काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल, पहाड र तालको नाम राखेर नेपाली उत्पादनलाई नेपालकै ब्राण्ड बनाउनुपर्ने बताउनु भएको छ ।
नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले नेपालको हिमाल, पहाड तालको नाम विश्वमै चर्चित रहेको भन्दै नेपाली उत्पादनलाई विश्व बजारमा ब्राण्डको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
दूध धेरै भए डेरी प्रोडक्टस बनाउन सकिने भन्दै उहाँले अझ धेरै भयो भने निर्यात गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, ‘हामीले किन बेल्जियम, स्विटजरल्याण्डको मात्र चकलेट किन्नु ? हामी पनि दूधको खपतका निम्ति चकलेट बनाऔं, हिमालयन चकलेट, अन्नपूर्ण चकलेट, माछापुपुर्छ्रे चकलेट, फोकसुण्डो चकलेट, एभरेष्ट चक्लेट, कञ्चनजंगा चकलेट, फेवा चकलेट किन नबनाउने ? नेपालकै ब्राण्ड हुन्छ ।’
नेपालमा पाइने चौँरीको दूध, छुर्पि तथा च्याङ्ग्रा लगायतको मासु ब्राण्डको रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै उत्पादन र मार्केटिङलाई सही रूपमा विस्तार गर्दा नेपाली सामान विश्व बजारमा बिक्री गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो । कृषि क्षेत्रमा आत्मानिर्भर बन्नको लागि रासायनिक मल कारखाना खुल्ने तयारी भएको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।
मिल्क होली डे अंगेजी अर्थमा मिठो सुनिएपनि यसले किसानलाई पीडा दिने भएकाले यस्तो होली डे नेपालका लागि आवश्यक नभएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘डेरी सञ्चालकले दूधको खपत गर्न नसकेर, मिल्क होली डे भन्दै किसानलाई दूध पोख्न बाध्य पार्नु दुखद छ, भैँसीले गाईले शनिबार भन्ने थाहा पाउँछ ?, पाउँदैन त्यसैले अंग्रेजी अर्थमा अल्मलिनु हुँदैन ।’
अब कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाइने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल पशुजन्य उत्पादनमा आत्मानिर्भर भएको अवस्थामा अब कृषिजन्य उत्पादनमा पनि आत्मनिर्भर बनाउन सरकार लागि रहेको छ ।’
नेपालमा लगानी भन्ने बित्तिकै पैसा मात्र बुझ्ने भएकाले यस्तो सोच अब हटाउनुपर्ने उहाँले बताउनुभयो । लगानीमा श्रम, प्रविधि पनि जोडिने भएकाले यसलाई सन्तुलित रूपमा बुझ्नुपर्ने बताउनुभयो ।
व्यवसायीले अलि ठूलो रूपमा व्यवसाय सुरू गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । किसानको आम्दानी बचतमा जानेगरी उद्योगीहरूलाई सहयोग गर्ने नीति सरकारले बनाउने पनि प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले वैज्ञानिक रूपमा बीमा गर्ने र प्रिमियमा कम गर्न बैंकलाई आग्रह समेत गर्नुभयो ।






प्रतिक्रिया