अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हप्तैपिच्छे एमाले संसदीय दलको बैठकः माधव समूह दबाबमा

हप्तैपिच्छे एमाले संसदीय दलको बैठकः माधव समूह दबाबमा


काठमाडौं– पहिला पहिला संसदको अधिवेशन सुरु हुनुभन्दा एक दिन अघि सांसदहरुलाई संसद अधिवेशनको जानकारी गराउनका लागिसंसदीय दलको बैठक बस्थ्यो । त्यो बैठकमा संसदमा कसरी प्रष्तुत हुने, सरकारको प्रतिरक्षा कसरी गर्ने, विधेयकहरु राम्ररी पढेर आउने र आफ्नो प्रस्तुती अब्बल बनाउने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षण शैलीमा संसदहरुलाई जानकारी गराउनुहुन्थ्यो ।

तर चालु ससदको १२ औं अधिवेशन सुरु भएको करिब एक महिनाको अवधिमा एमाले संसदीय दलको बैठक आज चौथो पटक बस्दैछ । नेकपाको एकता भंग भएको, एमालेका पनि केही सांसदहरु सरकारको विपक्षीजस्तो भएर प्रस्तुत भइरहेका बेला पटक पटक बैठक बस्नुलाई अर्थपूर्ण रुपमा लिन थालिएको छ । एमाले संसदीय दलको बैठक पछिल्लो पटक सात गते बसेको थियो । त्यसको हप्तादिन दिनपछि आज फेरि बैठक बस्ने भएको छ । आजको बैठकमा सांसदहरुलाई विकास निर्माणका कुराहरु कसरी उठाउने, आफ्नो निर्वाचन क्षेत्रमा आगामी वर्षको बजेट राख्नुपर्ने योजनाहरु के के हुन् भनेर जानकारी लिनका लागि आयोजना गरिएको प्रमुख सचेतक विशाल भट्टराई बताउनुहुन्छ । ‘आजको बैठक मुख्यगरी आगामी बर्षको बजेटमा क्षेत्रबाट समेट्नु पर्ने योजनाहरु, संसदमा हाम्रो पार्टीका संसदहरुको प्रभावकारी प्रस्तुती र समसामयिक राजनीतिका बारेमा अन्तर्क्रिया गर्नका लागि आयोजना गरिएको हो,’ बैठकको तयारीका लागि बालुवाटारमा रहनु भएका भट्टराईले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यस बाहेक केही मिडियाहरुले अनुमान गरेजस्ता बिषय आज हाम्रो कार्यसूचीमा छैनन् ।’

नेकपाको एकता भंग भएको, एमालेका पनि केही सांसदहरु सरकारको विपक्षीजस्तो भएर प्रस्तुत भइरहेका बेला पटक पटक बैठक बस्नुलाई अर्थपूर्ण रुपमा लिन थालिएको छ ।

एमालेमा माधव नेपाल समूहले ३६ जना सांसदहरु आफ्नो पक्षमा रहेको दाबी गरिरहेका बेला पटक पटक बैठक आयोजना गर्नु भनेको उनीहरुमाथी दबाव सृजना गर्नका लागि हो भनेर सजिलै बुझ्न सकिन्छ । ‘संसदीय दलकोे बैठक पटक–पटक आयोजना हुने बैठकको जानकारी संसदले पाउने तर विना जानकारी सांसद अनुपस्थित भइरहने कुरालाई विधानले स्विकार्दैन,’ एक सांसदले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘कालान्तरमा बैठकमा उपस्थित नहुने सांसदलाई कारबाही गर्नुपर्ने अवस्था आयो भने प्रधानमन्त्रीलाई अपजस जाँदैन ।’

पटक–पटक संसदीय दलका बैठकले एमालेलाई फाइदै भएको छ । दलको बैठक बोलाएपछि प्रधानमन्त्री ओलीलाई साथ दिंदै माधव नेपाललाई समर्थन गर्ने सांसदको संख्या क्रमश घटिरहेको छ । जस्तो माधव नेपाल समूहमा रहेका पूर्वमन्त्री एवं सांसद लालबाबु पण्डित र सांसद माया ज्ञवाली २९ फागुनको संसदीय दलको बैठकबाट प्रधानमन्त्रीको पक्षमा आउनुभयो । यसैगरी ५ चैतको बैठकमा एमालेले माधव नेपाल र झलनाथ खनाललाई पनि सदस्य राखेर संसदीय बोर्ड गठन ग¥यो । ७ चैतको बैठकमा नेकपामा एकता अभियान सञ्चालन गरिरहेका उपाध्यक्ष वामदेव गौतम, गौतम पत्नी सांसद तुलसा थापा र चितवनका सांसद कृष्णभक्त पोखरेल पनि प्रधानमन्त्रीलाई समर्थन जनाउँदै बैठकमा सहभागी हुनुभयो ।

शुक्रबारको दलको बैठकमा थप चार सांसद संस्थापनतिर आउने बताइएको छ ।

एमाले संसदीय दलको बैठकमा सहभागी हुने मनस्थितिमा माधव पक्ष, कालिमाटीमा सांसदहरुको भेला

नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी हुने माधव नेपाललाई दबाब परेको छ । उहाँ पक्षका सांसदहरुले दलको बैठकमा पटक पटक अनुपस्थित हुनु उपयुक्त नहुने भन्दै सहभागी हुन दबाब दिइरहेको छन् ।

सांसद सोमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा सहभागी हुनुपर्छ भन्ने सांसदहरुको संख्या अत्यधिक छ । ‘संसदीय दलको बैठकमा सहभागी होऔं । आफ्ना कुरा त्यही राखौं भनेका छौं,’ पाण्डेले नेपाली बहस डटसँग कुरा गर्दै भन्नुभयो ‘यस विषयमा परामर्श गर्न माधव कमरेडले कालीमाटी बोलाउनु भएको छ । हामी भेला हुदैछौं ।’