अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्ताए डोल्पाका एमाले खम्बा

अस्ताए डोल्पाका एमाले खम्बा


नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायको निधन भएको छ । कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना हुनुएका ५२ वर्षीय रोकायको आज बिहान निधन भएको प्रदेशसभा सदस्य एवम् उनकी बहिनी बदमीक्वारी बोहराले जानकारी दिनुभयो ।

रोकाय नेकपा एमालेका पुराना र इमान्दार कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ १४ बर्ष देखि निरन्तर एमाले डोल्पाको अध्यक्ष हुनुहुन्थ्यो । रोकायलाई २०६४ सालको संविधानसभा निर्वाचनका बेला माओवादीहरुले मरणासन्न हुनेगरी कुटेर फालेका थिए । सांसद बोहराका अनुसार मुड्कीचुला गाउँपालिका वडा नं १ निवासी रोकायलाई माओवादीहरुले घरैबाट उठाएर लगेर कुटपिट गरेका थिए ।

एमालेको संगठन राम्रो बनाएको, चुनावी प्रचारमा हिडेको,माओवादीलाई असहयोग गरेको लगायतका आरोप लगाएर बुढालाई घर नजिकैको बारीमा लगेर माओवादीले कुटेका थिए । ‘दाइलाई माओवादीहरुले धान कुट्ने मकलले टाउको र जीउमा कुटेर मर्‍यो भनेर फालेका थिए,’ बोहोराले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ,‘ गाउँका महिलाहरुले उहाँलाई फालेको अवस्थामा भेटेर हल्ला गरेपछि उपचारका लागि काठमाडौं लगिएको थियो । करिब चार महिना उपचार गरेपछि उहाँलाई जाती भएको थियो । ’ त्यसबेला माओावादीबाट सत्य पहाडी उम्मेदवार हुनुहुुन्थ्यो भने एमालेबाट ओमबहादुर बुढा ।

उहाँलाई अस्पतालले विदा दिए पनि शारिरीक अवस्था तन्दुरुस्त थिएन । ‘उहाँले पुनर्जीवन पाए पनि स्वास्थ्य राम्रो थिएन । त्यसबेलाको घाउचोट बल्झिरहन्थ्यो,’ बोहोराले भन्नुभयो, ‘तर उहाँ पार्टीको काममा सधैं त्यागी भएर लाग्नुहुन्थ्यो । माअ‍ोवादीसँग एकता हुँदा पनि पार्टी अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो । अहिले एमाले हुँदा पनि पार्टी अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो ।’

माओवादीले मर्‍यो भनेर फालेको १३ वर्षपछि पनि उहाँले सक्रिय राजनीति छोड्नु भएन । डोल्पामा एमालेको संगठन बिस्तारमा उहाँको योगदान धेरै रहेको स्थानीय नेता कार्यकर्ता बताउँछन् । पुनर्जीवनमा १३ वर्षमा उहाँले डोल्पाको एमालेलाई सशक्त बनाउन र भविष्यमा पनि एमालेको गढलाई कायम राख्न सयौं कार्यकर्ता उत्पादन गर्नु भएको स्थानीयहरुको भनाइ छ । ‘माओवादीको मकलसँग नहारेका हाम्रा दाइ कोरोनासँग हार्नुभयो’ रोकायकी मामाकी छोरी बोहोराले भन्नुभयो, ‘माओावादीको कुटाइकै असरको रुपमा बेला बेला अस्पताल जानु हुन्थ्यो । यसपालि पनि पहिला कै बिमार जँचाउन जानुभएको केही दिन पछि कोरोेना देखियो । त्यसैले उहाँलाई लग्यो ।’

रोकाय १५ दिन अघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनु भएको थियो ।

के भन्छन् राजनीतिक सहयात्री ?

रोकायको निधनले डोल्पा एमालेलाई ठूलो क्षति भएको प्रतिनिधि सभाका सांसद धनबहादुर बुढा बताउनुहुन्छ ।

‘अध्यक्ष कमरेडको निधनले डोल्पा एमालेले एउटा अभिभावक गुमायो । उहाँले बनाइदिएको संगठनको निरन्तरता हाम्रा लागि एउटा अवसर हो तर यसलाई जोगाउने जिम्मेवारी उहाँले हामीलाई छोडेर जानुभयो,’ उहाँको भनाइ छ, ‘उहाँले हाँकेको निर्वाचनमा मैले २०७० सालमा संविधानसभा र २०७४ मा संघीय संसदमा चुनाव जितें । पार्टीमा उहाँ मेरोे गुरु र अभिभावक पनि हो ।’ पशुपति आर्यघाटमा रहेकाबेला सांसद बुढाले सम्झिए– ‘उहाँको सद्गदका लागि पशुपति आर्यघाट आउँदा मैले डोल्पा एमालेका भावी दिनहरुको कल्पना गरिरहेको छु ।’

एमाले डोल्पाका जिल्ला कमिटी सदस्य लंकबहादुर शाही रोकायले पदलाई भन्दा पार्टीलाई बढी महत्व दिने गरेको बताउनुहुन्छ । २०४७ सालमा पार्टी एकता भएपछिको पहिलो पटक अध्यक्ष भएका रोकाय करिब चार बर्षमात्र अध्यक्ष हुनुभएन । ‘उहाँले डोल्पाको एमालेलाई २६ वर्ष अभिभावकत्व प्रदान गर्नुभयो,’ शाहीले भन्नुभयो ‘उहाँकै नेतृत्वमा हामीले २०५६, २०७० र २०७४ सालका निर्वाचनमा बिजयी हासिल गर्‍यौं ।’

डोल्पाका छ वटा गाउँपालिका मध्ये चार वटामा एमालेले जितेको छ । दुईवटै नगरपालिकामा एमालेका प्रमुख छन् । ‘पार्टीले सधैं उहाँको नेतृत्व माग गरिरह्यो । संगठन गर्न र सरल जीवन बाँच्न उहाँबाट सिक्नु पर्दछ,’ कमजोर अवस्थाको पार्टीलाई मजबुत बनाउन आफैंभित्रको सांगठनिक प्रक्रिया सुधार गर्ने,अन्य पार्टीका कार्यकताहरु भित्र्याउने र उपयुक्त जिम्मेवारी दिने सवालमा रोकाय कहिले कञ्जुस्याँई गर्नुहुन्न्थ्यो ।

२०४० सालमा स्थानीय विद्यालय पढाउन सुरु गरेका रोकायलाई २०४७ पार्टीले आग्रह गरेपछि शिक्षकबाट राजीनामा गरेर एमालेको नेतृत्वमा आउनुभएको हो । उहाँको आर्थिक अवस्था कमजोर रहेको निकटस्थहरु बताउँछन् । एक मात्र छोरा रोजगारीका लागि दुबईमा छन् । रोकायका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।