अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजबाट काठमाडौंका धारामा मेलम्चीको पानी, घरघरमा खुसीयाली

आजबाट काठमाडौंका धारामा मेलम्चीको पानी, घरघरमा खुसीयाली


काठमाडौं– लामो समयदेखि काकाकुल अर्थात तिर्खाएको भनेर चिनिएको काठमाडौंको परिचय मेलम्ची खानेपानी आयोजनाले बदलिदिने भएको छ । मेलम्ची खानेपानी आयोजनाले आजबाट काठमाडौंका धारामा पानी आइपुग्ने भएपछि पानीको समस्याबाट मुक्ति मिलेको भन्दै काठमाडौंबासी खुशीले गद्गद् भएका छन् ।

परीक्षणको रुपमा आज दिउँसो पानी काठमाडौंका धारामा बगाइने मेलम्ची खानेपानी आयोजनाका प्रवक्त राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । पन्तका अनुसार आज साढे ८ करोड लिटर पानी काठमाडौं पठाइनेछ । आज पठाइने पानीले पाइपको अवस्था परिक्षण गरिने र पाइपभित्र भएको फोहोर पनि सफा गरिने आयोजनाले जनाएको छ । ‘आज पठाइने पानी परीक्षणका लागि हो पिउन मिल्दैन,’ पन्तले भन्नुभयो, ‘केही समयभित्रै पिउन मिल्नेगरी काठमाडौंका धारामा पानी पठाइनेछ । तर अब काकाकुल काठमाडौंको परिचय बदलिन्छ । केही समयमै पउिन मिल्नेगरी धाराधारामा पानी आउछ ।’

मेलम्चीबाट सुन्दरीजलको पोखरीमा ल्याएको पानी आज परीक्षणको रुपमा घरघमा छोडिनेछ । केही समयभित्र पानी प्रशोधन गरेर पिउन मिल्ने गरी घरघरमा पठाइनेछ । ‘परीक्षणको रुपमा आज धारामा पानी छोड्नु भनेको मेलम्चीको पानी आयो भन्ने संकेत हो,’ पन्तले भन्नुभयो । आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ ।

उपत्यकामा हाल ४३ करोड लिटर पानीको माग छ तर १३ करोड लिटरमात्र आपूर्ति भइरहेको छ । पानी वितरणका लागि अधिकांश संरचना निर्माण भइसकेका छन् । २०४७ सालमा तत्कालिन प्रधनमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंलाई पखाल्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसको करिब तीन् दशकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २२ फागुनमा सुन्दरीजलमा मेलम्चीको पानी प्रवाह सुरु गर्नुभएको थियो ।