अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीको पानी धारामा, यस्तो छ तालिका

मेलम्चीको पानी धारामा, यस्तो छ तालिका


काठमाडौं- मेलम्चीको पानी एक कार्यक्रमकाबीच खानेपानी वितरण प्रणालीमा पठाइएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।

महांकालबाट पानी छाडिएको आधा घण्टामा पानी उपभोक्ताको घरको धारामा पानी पुग्ने बताइएको छ । सुरूमा चाबहिल, मित्रपार्क, बत्तिसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको वितरण केन्द्रले जनाएको छ । ​

पानी वितरणको तालिका

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ ।

यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ ।

यस्तै, दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ । त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ ।

यस्तै, अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।

पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ ।