अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि


ताप्लेजुङ- नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार/पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए । अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा पनि वृद्धि भएको छ ।

फक्तालुङ गाउँपालिकाको लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाको पापुङ, नाल्बु, साँवा साथै सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन र सिदिङ्वा गाउँपालिकाको कालीखोला र शुरुम्खिम जस्ता उच्च भेगमा चिराइतोको व्यावसायिक खेती गर्ने गरिएको छ । यी सबै क्षेत्रको चिराइतोको मुख्य बजार भनेको तिब्बत नै हो । ओलाङचुङ्गोला नाका हुँदै चिराइतो तिब्बती बजारमा बिक्री हुने गरेको छ ।

विश्वव्यापी महामारी कोरोनाका कारण सो नाका बन्द भएकाले न्यून मूल्यमा पनि चिराइतोको किनबेच हुन सकेको थिएन । भारत हँुदै तेस्रो बजारमा प्रवेश गर्ने भएकाले विगत पाँच वर्षदेखि प्रतिमन रु सात हजारदेखि आठ हजारसम्ममा किसानको घरबाट व्यापारीले खरीद गर्ने गरेका थिए । अहिले प्रतिमन रु १२ हजारदेखि १५ हजारसम्म व्यापारीले घरबाट नै खरीद गर्न थालेका छन् ।

किसानका अनुसार विगत चार÷पाँच वर्ष अगाडिदेखिको पछिल्लो समयको मूल्यमा बेच्दा किसानलाई यसको खेती र सङ्कलन गरेको खर्च नै नउठ्ने भएकाले खेती नै छाडेको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केसिङकुमार लिम्बूले बताउनुभयो । लिम्बूले चिराइतो खेतीलाई नै मुख्य व्यवसाय ठानेर यस क्षेत्रमा लागेको २० वर्ष भएको छ । उहाँले भन्नुभयो, ‘आजभन्दा २० वर्ष अगाडि नै चिराइतोको मूल्य प्रतिमन रु १६ हजार थियो यसको हिसाबले हेर्दा पछिल्लो वर्षमा प्रतिमन रु सात हजारले कारोबार हुनु भनेको अत्यन्त दुखद रहेको छ ।’

उहाँका अनुसार सबैभन्दा बढी मूल्यमा १० वर्ष आगाडि प्रतिमन ४० हजारमा बिक्री भएको थियो । अहिले उहाँले सो पेशा नै परिवर्तन गरिसक्नु भएको छ ।

लेलेपकै स्थानीय व्यापारी नाम्य शेर्पाका अनुसार स्थानीय गाउँका किसानको मुख्य नगदेबालीको रुपमा रहेको सो चिराइतोको भाउ नहुँदा उनीहरुको जीवनयापनमा पनि धेरै गाह्रो भएको छ । उहाँ पहिले यसबाट राम्रौ आम्दानी भएपछि पछिल्लो समय मूल्यमा हस आएसँगै धेरैले व्यावसायिक रूपमा खेती गर्न छाडेको बताउनुहुन्छ ।

मूल्य कम नभए पनि शेर्पाले आफूसँग भएको चिराइतो व्यापारीलाई सस्तोमा बिक्री नगरी राख्नु भएकाले अहिले राम्रो मूल्य पाएपछि ठूलो राहत भएको बताउनुहुन्छ । शेर्पाले प्रतिमन रु सात हजारमा किनेको चिराइतो भर्खरै प्रतिमन रु १२ हजार ५०० मा बिक्री गर्नुभयो । शेर्पाले स्थानीय गाउँका कृषकबाट ३५ मन चिराइतो सङ्कलन गरेर राख्नुभएको थियो ।

मिक्वाखोला गाउँपालिका–५ पापुङका व्यापारी निमा शेर्पाका अनुसार लामो समयपछि चिराइतोको माग आएको र मूल्य पनि राम्रै आउने सङ्केत पाएपछि आफूले पनि विभिन्न स्थानबाट चिराइतो खरीद गर्न थालेको बताउनुभयो । रासस