अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा प्रदेश सहइन्चार्जहरू फेरबदल, २४ जना नेतालाई नयाँ जिम्मेवारी

एमालेमा प्रदेश सहइन्चार्जहरू फेरबदल, २४ जना नेतालाई नयाँ जिम्मेवारी


काठमाडौं– नेकपा एमालेले नेताहरुको जिम्मेवारीमा फेरि फेरबदल गरेको छ ।

एमालेले प्रदेशको जिम्मेवारीमा माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुलाई समेटेर जिम्मेवारी दिएको छ । चैत १३ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार छ जनासम्म सहइन्चार्ज राखिएको छ ।

प्रदेश १ मा इन्चार्ज सुवास नेम्वाङ हुनुहुन्छ भने सहइन्चार्ज छ जना नेतालाई जिम्मेवारी दिइएको छ । जसअनुसार लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टंक आङबोहाङ र राजेन्द्र गौतम हुनुहुन्छ । ताप्लेजुङका आङबोहाङ केही दिन अघि माओवादी छोडेर एमाले प्रवेश गर्नुभएको हो । उहाँ हाल प्रदेश नं १ को अर्थ मन्त्री हुनुहुन्छ ।

बागमती प्रदेशमा पनि जिम्मेवारीमा हेरफेर गरिएको छ । इन्चार्जमा रामबहादुर थापा बादल, सहइन्चार्जको जिम्मेवारी तीनजना नेतालाई दिइएको छ । जसमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र उपत्यकाको विशेष जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । थापा माओवादीबाट एमाले प्रवेश गर्नुभएको हो । तामाङ माधव नेपालको साथ छोडेर प्रधानमन्त्री ओलीको पक्षमा लाग्नुभएको हो ।

यस्तै गण्डकी प्रदेशमा पनि सहइन्चार्जहरु थपिएका छन् । जस अनुसार इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जहरुमा किरण गुरुङ, पद्मा आर्याल र लिलाबहादुर थापा हुनुहुन्छ ।

लुम्बिनीमा चार जना नेतालाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । जसमा इन्चार्ज शंकर पोख्रेल हुनुहुन्छ । सहइन्चार्जहरुमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी र गिरीधारीलाल न्यौपाने हुनुहुन्छ । थापा माओवादीबाट एमाले प्रवेश गर्नुभएको हो । केही समय अघि उहाँ कर्णाली प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो । चौधरी माधव नेपाल समूहबाट प्रधानमन्त्री ओलीको पक्षमा लाग्नुभएको हो ।

कर्णाली प्रदेशमा पनि दुईजना नेताहरुले सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ । जसमा इन्चार्ज यामलाल कँडेल र सहइन्चार्जमा लक्ष्मी पोखरेल र गुलावजंग शाह हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा पनि दुईजना नेताले सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ । यो प्रदेशको इन्चार्ज लेखराज भट्ट हुनुहुनन्छ । उहाँ पूर्व माओवादीबट एमाले प्रवेश गर्नुभएको हो । सहइन्चार्जमा नारदमुनी राना र गणेश ठगुन्ना चयन हुनुभएको छ ।

प्रदेश २ मा भने सहइन्चार्ज तोकिएको छैन । यो प्रदेशमा सत्यनारायण मण्डल इन्चार्ज हुनुहुन्छ ।