नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ सुरू हुँदैछ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो ।
देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताउनुभयो ।
प्रतियोगितामा नगरभित्रका १६ समूहले प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिता संयोजक विष्णुकुमार वाग्लेले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा किशोर-किशोरी केन्द्रित खेलकूदका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
उहाँले खेल मैदान निर्माणदेखि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । खेलकुदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उहाँको भनाइ छ ।
खेलकुदका कार्यक्रमसँगै प्रशिक्षणलाई समेत अगाडि बढाउने तयारी भएको वाग्लेको भनाइ छ । सो प्रतियोगिताको विजेता समूहले नगद रु एक लाख ५० हजार तथा उपविजेता समूहले नगद रु ७५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वाग्लेले बताउनुभयो ।
त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकसहित विधागतरूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने संयोजक वाग्लेको भनाइ छ ।
प्रतिक्रिया