अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र थरुहट पक्षबीच आज वार्ता हुँदै

सरकार र थरुहट पक्षबीच आज वार्ता हुँदै


काठमाडौं- सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच आज वार्ता हुने भएको छ । समितिका सदस्यहरूका अनुसार गृहमन्त्रालयमा आज दिउँसो १ बजेपछि दुई पक्षबीच वार्ता हुने भएको हो ।

थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार विहान पाँच सदस्यीय वार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता हुन लागेको हो ।

सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ ।

थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी रहनुभएको छ । संघर्ष समितिकी उपसंयोजक तथा थाकसको संगठन विभाग प्रमुख समेत रहनुभएकी चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिनुभयो ।

वार्ता टोलीका सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहनुभएको छ । महामन्त्री चौधरीकाअनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल हुनेछ ।