अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनगणनाको तयारी तीव्र, ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक परिचालन गरिने

राष्ट्रिय जनगणनाको तयारी तीव्र, ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक परिचालन गरिने


काठमाडौं- राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्राैँ राष्ट्रिय जनगणना गर्दैछ ।

समितिको आजको बैठकमा सदस्यहरूले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुर्‍याउन सुझाव दिनुभयो ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उहाँहरूले सही तथ्याङक सङ्कलन गर्न गणकहरू प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गर्नुभयो । जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रविन्दु मानिएका विषय पत्तालगाउने गरी फारम विकास गर्न सुझाव दिनुुभयो ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रूपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना : मेरो सहभागिता’ रहेको छ ।

योजना आयोगका सदस्य डा रामकुुमार फुुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्याङ्क आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्याङ्क सङ्कलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

तथ्याङ्क विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताउनुभयो ।