अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विगतका नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पौडेल

विगतका नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरूलाई बिर्सेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई आग्रह गर्नुभएको हो ।

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उहाँले बताउनुभयो । सकारात्मक भएर अगाडि बढ्नसमेत सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब सबै विगतलाई राम्रा कुराहरूलाई मात्रै राखौँ । जे जति भए ती सबै कुरालाई बिर्सौँ र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौँ । तिनै विषयलाई उठाउने हो भने फेरि पनि समस्या आउन सक्छ ।’

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताउनुभयो ।

‘हामीभित्रकै कारणले गर्दा आज हामी कमजोर अवस्थामा पुगेका छौँ । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छाैँ । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफैँआफैँ लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौँ, उहाँले भन्नुभयो, ‘त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढ्नु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ ।’