अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आकाश खुलेसँगै भित्रुवन विमानस्थलको उडान सामान्य

आकाश खुलेसँगै भित्रुवन विमानस्थलको उडान सामान्य


काठमाडौं- प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।

मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिनुभयो । गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा विगत पाँच दिन यान्त्रिक पद्धत्तिबाट मात्रै उडान सञ्चालन भएको थियो ।

आन्तरिक गन्तव्यमा केही सङ्ख्यामा मात्रै उडान भए । बुधबार अपरान्हपछि काठमाडौं उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको थियो । विमानस्थलका महाप्रबन्धक तिवारीले क्रमशः मौसम सुधार आएकाले उडान रद्ध हुने क्रम पनि बुधबारसम्म घटेको र राति काठमाडौंसहित विभिन्न स्थानमा भएको वर्षाले उडान सहजता आएको बताउनुभयो ।

बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको थियो । अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो । विमानस्थलका अनुसार विगत छ दिनको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करीब ४० प्रतिशत उडान रद्द भएका छन् ।

अन्तरराष्ट्रियतर्फ पनि थोरै सङ्ख्यामा उडान रद्द र केही उडान अन्यन्त्र मोडिनु ‘डाइभर्ट’ भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकाप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्दै आएकामा कोभिड–१९ सङ्क्रमणपछि हाल १९ वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।