अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले पठाउनुभएको समवेदना सन्देश नेता मानन्धरका छोरालाई हस्तान्तरण

प्रधानमन्त्रीले पठाउनुभएको समवेदना सन्देश नेता मानन्धरका छोरालाई हस्तान्तरण


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाउनुभएको शोक तथा समवेदना सन्देश मानन्धर निवासमा परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश लिएर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, सांसद विना श्रेष्ठलगायत मानन्धर निवासमा पुगेर छोरा सुनिल मानन्धर र परिवारजनलाई आज मैतीदेवीस्थित हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

मानन्धरको यहि चैत १६ गते ९१ वर्षको उमेरमा निधन भएको थियो । नेपालको राणाविरोधी र सिङ्गो कम्युनिष्ट आन्दोलनमा मानन्धरको सक्रिय, प्रेरणादायी र उल्लेखनीय योगदान रहेको छ । प्रधानमन्त्री ओलीले मानन्धरका छोरा सुनिल तथा परिवारलाई सम्बोधन गर्दै समवेदना सन्देश पठाउनु भएको हो ।

सन्देशमा मानन्धरको निधनले आफूलाई दुःखित तुल्याएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । ‘पितृवियोगमा पर्नुभएका तपाई, पारिवारिक वियोगले मर्माहत तपाईको परिवार र आफन्तजनप्रति म गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले शोक तथा समवेदना सन्देशमा लेख्नु भएको छ ।

जहानियाँ राणाशासन विरुद्धको संघर्षमा समेत सक्रिय रहनुभएका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा संगठित रहेर पुर्‍याउनुभएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।