अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँका कृषकलाई चैते धान रोप्न चटारो

तनहुँका कृषकलाई चैते धान रोप्न चटारो


तनहुँ- तनहुँमा कृषकलाई चैते धान रोप्न चटारो छ । जिल्लाका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका-११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिनुभयो ।

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उहाँले बताउनुभयो । तरकारीखेती, भैँसीपालन, मौरीपालन गर्नुभएका उहाँले भन्नुभयो, ‘अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।’ उहाँका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं-३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताउनुभयो । ‘धयरेका फाँट यतिबेला कृषकले भरिएका छन्, कृषक धान रोप्न व्यस्त छन्,’ उहाँले भन्नुभयो । वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे–४ का चन्द्रबहादुर रानाले बताउनुभयो ।

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् । म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महङ्गो पर्ने गरेको बताउनुभयो ।

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा तीन हजार ५ सय हेक्टरमा चैते धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धानखेती लगाउने गरेका छन् ।