अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति फेरियो, भारतले बुझ्ने गरी हिन्दीमै बोल्छु : प्रचण्ड

राजनीति फेरियो, भारतले बुझ्ने गरी हिन्दीमै बोल्छु : प्रचण्ड


काठमाडौं- नेपालको राजनीति फेरिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतलाई बुझाउन हिन्दीमा बोल्नुभएको छ ।

कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू कपिलवस्तु आउने चर्चा भारतमा चलेको सुनाउनुभयो । ‘म कपिलवस्तु आउने चर्चा भारतमा चलेछ, लखनउतिर पनि प्रचण्ड आउँदैछ भन्ने चर्चा चलिरहेको रहेछ,’ प्रचण्डले भन्नुभयो ।

भारतीय पत्रकारहरू पनि आफू सहभागी कार्यक्रममा आएका दाबी गर्दै प्रचण्डले उनीहरूलाई नेपालको राजनीतिक अवस्था बुझ्न सजिलो होस् भनेर हिन्दीमा भाषण गर्ने उद्घोष गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘भारतीय पत्रकाहरूलाई पनि सुन्न सजिलो हुन्छ, कपिलवस्तुवासीसहित भारतीयलाई पनि बुझ्न सजिलो पक्कै हुनेछ त्यसैले मैले हिन्दीमै भाषण गर्छु,’ त्यसपछि हिन्दीमा भाषण थाल्नुभयो प्रचण्डले ।

त्यसअघि नेपालीमा सम्बोधन गर्नुभएका प्रचण्डले नेपाली राजनीतिले कोल्टे फेरेको बताउनुभयो । विशेषगरी काठमाडौंको राजनीति फेरिएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि राजनीतिले कोल्टे फेरेको उहाँले बताउनुभयो ।

साथीहरूले नयाँ सरकार गठन पहल गरिहाल्नुस् भन्दाभन्दै आफू कपिलवस्तु आएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘मलाई अलि हतार छ तैपनि म तपाईंहरुसँग छु, चाँडै फर्कनु पर्नेछ, काठमाडौं गएपछि नयाँ सरकार गठनको काम सुरू हुन्छ, सम्भवत चाँडै नै नयाँ सरकार बन्छ ।’