अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै

पशुपतिमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै


काठमाडौं- देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा सुरू गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका दिन पाहुनालाई स्वागत गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका तर्फबाट जात्रासम्बन्धी काम हेर्दै आउनुभएका वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । पाहुनालाई स्वागतसँगै आज र भोलि पूजा सामग्री तयार पार्ने कामसमेत गरिन्छ ।

चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन सोमबार बेलुकी पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरी उपत्यकाका प्रमुख देवीदेवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिएको छ ।

सोमबार बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामाकान्त भट्टले पूजा आराधना गरेपछि उहाँकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले बताउनुभयो । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने कोषले जनाएको छ ।

निमन्त्रणा यात्रा पशुपति पश्चिम मूलढोकाबाट जयबागेश्वरी-ताम्रेश्वर-भण्डारेश्वर-ज्ञानेश्वर-नक्साल भगवती-कमलाक्षी-असन–हनुमानढोका-कुमारीघर-जैसीदेवल-लगन डबली-पचलीभैरव-यङ्गाल-मरु गणेश-नरदेवी-टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा पुगेर निमन्त्रणा सकिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । सोमबारको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ । चैत्रकृष्ण एकादशीदेखि बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको विशेष पूजा आराधना सुरू हुन्छ । देशको उद्धार गर्ने सङ्कल्पले लिच्छविकालमा सुरू भएकाले यसलाई देशोद्धार पूजा एवं जात्राको नाम दिइएको हो ।

चैत्रकृष्ण अष्टमीका दिन निम्ता गरेपछि ती देवीदेवताका साथै त्यस क्षेत्रका स्थानीयवासी पनि पशुपतिमा जात्रा हेर्न आउँछन् भन्ने विश्वास प्राचीनकालदेखि रहँदै आएको छ । जात्राको मुख्य दिन चैत २९ गते बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथ निकालिन्छ । रथलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइन्छ ।