अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छ’

‘व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छ’


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आव्हान गर्नु भएको छ ।

काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय देखापरेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको हो ।

स्वर्गीय रिमालले आफ्ना रचनाहरूमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबर्जस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरलले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरू चुलिँदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन ‘सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको’ भन्दै व्यंग्य गर्नुभयो ।

‘जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरूको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबैभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन्,’ उहाँले भन्नुभयो, ‘सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरू पनि छन् । तर, गोपालप्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरू प्रशस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू चुलिएका छन् । तर, निराश हुनुहुँदैन । त्यसको विरुद्धमा उभिनुपर्दछ ।’

एमाले महासचिवसमेत रहनुभएका पोखरेलले राजनीतिक दलका अगुवाहरूमा विकसित हुँदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफुलाई लज्जाबोध हुने गरेको बताउनुभयो । उहाँले राजनीतिक वृत्तमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गर्नुभयो ।