अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघ निर्वाचन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

पत्रकार महासंघ निर्वाचन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू


काठमाडौं- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मदतान बिहान ९ बजेदेखि सुरू भएको हो ।

केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरू भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् ।

यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ(आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।

प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ(आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरूले आ(आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।

काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ ।

एशोसिएट सदस्यहरूको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरूका लागि १९ वटा केन्द्रमा मतदान भइरहेको छ ।

कहाँ-कहाँ हुँदैछ मतदान ?

महासंघको चुनावका लागि कान्तिपुर प्रतिष्ठानका पत्रकारले आफ्नै मिडिया हाउसबाट मतदान गर्न पाउनेछन् । कान्तिपुरका लागि कान्तिपुर दैनिक थापाथली र कान्तिपुर एफएम पुल्चोकमा मतदानस्थल तोकिएको छ । यस्तै, एबिसी टेलिभिजन, च्यानल नेपाल, गोरखा एफएम र मेरो एफएमका लागि एबिसी टेलिभिजनको कार्यालय न्यूप्लाजामा केन्द्र तोकिएको छ ।

यस्तै, रेडियो नेपाल र नेपाल टेलिभिजनका पत्रकारले टेलिभिजनकै सिंहदरबार कार्यालयबाट मतदान गर्न सक्नेछन् । ललितपुरको चाकुपाटमा रहेको सीआइएन कार्यालयमा माउन्टेन टेलिभिजन, कारोबार दैनिक, नेपाल एफएम, आउटलाइट समाचार सेवा, कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा, एन्टेना फाउण्डेसन, हिमाल मिडिया, राजधानी, मिडिया होम र सीआईएनका पत्रकारले मतदान गर्न सक्नेछन् ।

यस्तै, गोरखापत्र दैनिकको धर्मपथमा रहेको कार्यालय, भद्रकालीमा रहेको रासस कार्यालयमा मेट्रो एफएम र राससका पत्रकारले भोट दिन सक्नेछन् ।

यस्तै, अन्नपूर्ण पोष्ट तिनकुने, नेपालवाणी र स्वतन्त्र समाचार सेवा केन्द्र थापागाउँ, हिमालय टाइम्स मध्यबानेश्वर, न्युज २४ टेलिभिजन लाजिम्पाटबाट पनि त्यहाँ रहेका प्रतिष्ठानका पत्रकारले मतदान गर्न सक्नेछन् ।

यस्तै, एभिन्युज टेलिभिजन केन्द्र महाराजगञ्ज, रेडियो थाहासञ्चार, रेडियो राजधानी र जनसञ्चारको सुमार्गी कम्पलेक्स माइतीघर, कामना शाखा केन्द्र भीमसेनस्थान, नयाँ पत्रिका पुतलीसडक, इमेज टेलिजिभन केन्द्र पानीपोखरीबाट पनि त्यहाँ रहेका प्रतिष्ठानका पत्रकारले मतदान गर्न सक्नेछन् ।

यस्तै. रेडियो मिरमिरे अनामनगर केन्द्र, रिपब्लिका केन्द्र बागदरबार, कान्तिपुर टेलिभिजन तिनकुने, हिमालय टेलिभिजन केन्द्र मध्यबानेश्वरमा पनि त्यहाँ रहेका पत्रकारले मतदान गर्न पाउनेछन् ।

यसपटक महासंघको अध्यक्षका लागि विपुल पोखरेल र निर्मला शर्माको प्यानल चुनावी मैदानमा छ । पत्रकार गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् । प्यानलसहित केही पत्रकारले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । पत्रकार महासंघको नयाँ नेतृत्व छान्न आज १३ हजार बढी पत्रकारले मतदान गर्दैछन् ।