अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले संसदलाई काम गर्न दिएको छ : लालबाबु पण्डित

सरकारले संसदलाई काम गर्न दिएको छ : लालबाबु पण्डित


काठमाडौं- नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले संसद्लाई काम दिएन भन्न नमिल्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पण्डितले संसद्मा विधेयकहरू चाङ लागेर बस्दा पनि विधेयक माथिको छलफल सभामुखले अघि नबढाउनु भएको बताउनुभयो । त्यस्तै, धेरै अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने भए पनि त्यस माथिको छलफल समेत अघि नबढेको उहाँले बताउनुभयो ।

अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरि रहेको उहाँले बताउनुभयो । ‘सरकारले काम दिएन भनिन्छ, सरकारले ल्याएका विधेयक पास गर्ने काम संसद्को होइन ? सन्धि सम्झौता अनुमोदन गर्ने काम संसद्को होइन ?’, उहाँले प्रश्न गर्नुभयो ।

साथमा विधेयक नभए संसद् सचिवालयको विधेयक शाखाबाट लिन सकिने उहाँले बताउनुभयो ।

संसदीय व्यवस्थालाई असफल बनाउन चाहने र सरकारको विरोध मात्र गर्नेले अहिले सरकारले संसदलाई काम दिएन भनेर विरोध गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभाको कामलाई प्रभावकारी बनाउन सभामुखको विशेष भूमिका हुने उहाँले बताउनुभयो । यदि संसद् र संसदीय व्यवस्था माथि प्रश्न उठ्छ भने त्यतिखेर सरकार माथि मात्र होइन सभामुख माथि पनि प्रश्न उठ्ने उहाँले प्रष्ट पार्नुभयो ।

सरकारसँग समन्वय गरेर जनताका आवश्यकतासँग जोडिएका विधेयक अघि बढाउन उहाँले सभामुखलाई आग्रह गर्नुभयो । ‘यसमा कसले रोकेको छ ? मैले त बाधा अवरोध थाहा पाएको छैन, यदि वाधा अवरोध छ भने ससंदमा भन्नुपर्छ, होइन भने संसदलाई सरकारले काम दिएन भनिन्छ भने त्यो पूर्वाग्रह मात्र हुन्छ,’ उहाँले भन्नुभयो ।