काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब औद्योगिक क्षेत्रमा व्यापक प्रगति गर्ने बतानुभएको छ ।
बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘सबै कुरा गर्न सक्ने क्षमता एकैजना मान्छेमा हुदैन । तर, हामीले आ-आफ्नो क्षेत्रबाट राम्रोसँग काम गरौँ । देश विकास गर्ने जिम्मेवारी हाम्रै हो । कसैले गरेर दिँदैन ।’
‘हामी सबैलाई सँगै लैजान चाहन्छौँ । देश बनाउन अब कुना-कुनाबाट विकास थाल्नुपर्छ । सबै ठाँउबाट देश उठाउने हाम्रो जिम्मेवारी हो,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान अभिभारालाई सार्थक पार्न उद्योगी व्यापारीहरूको भूमिका हत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘देश विकास हामीले नै गर्न सक्छौँ भन्ने आत्मविश्वास छ, हामी देश बनाउन सक्छौँ । सरकारसँगसँगै उद्योगीहरू अगाडि बढ्नुस् । सरकारले गर्ने सबै सहयोग गर्छ ।’
कोरोनाले विश्व थलिएका बेला पनि देशको आर्थिक वृद्धिदर नखस्केकोमा सन्तोष प्रकट गर्दै प्रधानमन्त्री ओलीले कारोनालाई नेपालले जितिरहेको उहाँले बताउनुभयो । तर, पछिल्लो समयमा भारतमा फैलिइरहेको नयाँ खालको कोभिड संक्रमणबारे भने प्रधानमन्त्रीले चिन्ता प्रकट गर्नुभयो ।
उहाँले होसियारी अपनाउन पनि अपिल गर्नुभयो ।
प्रतिक्रिया