अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगनलाई महेशको जवाफ : ‘बोकाको शैलीले दाई गरिँदैन, गोरु नै चाहिन्छ’

गगनलाई महेशको जवाफ : ‘बोकाको शैलीले दाई गरिँदैन, गोरु नै चाहिन्छ’


काठमाडौं- ‘बोकाको शैलीले दाई गरिँदैन, गोरुको शैलीले दाईं गर्न आउनुस्,’ बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद महेश बस्नेतले भन्नुभयो ।

बैठकमा कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘संसदमा बहस गर्न आउनुस्’ भन्दै मन्तव्य राख्नुभएको थियो । त्यसको जवाफ दिँदै बस्नेतले भन्नुभयो, ‘बहसलाई अस्वस्थ ढंगले लैजान विगतमा असफल भएका नेताका चेलाहरूले भूमिका खेलिरहनु भएको छ । प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरूलाई म के भन्न चाहन्छु भने- बोकाको शैलीले दाईं गरिँदैन्, गोरुको शैलीले दाईं गर्न आउनुस् ।’

सरकारले भौतिक निर्माणमा गरेको प्रगतिले विपक्षीहरूको टाउको दुखेको भन्दै बस्नेतले भन्नुभयो, ‘रानीपोखरी बनेको कुराले किन टाउको दुख्दैछ ? धरहरा ठडिँदा किन टाउको दुख्दैछ ? देशभर सडक बनिरहँदा किन टाउको दुखिरहेको छ ? एक दिनमा ३९६ अस्पताल शिलान्यास हुँदा किन टाउको दुख्दैछ ? मेरो निर्वाचन क्षेत्रमा सरकारको विकास चाहिदैन भन्ने आँट गर्नुस् । हैन भने किन विरोध ?’

बस्नेतले अगाडि भन्नुभयो, ‘मेलम्चीको पानीले काठमाडौं उपत्यकामा खुसीको लहर ल्याउँदा पनि किन उपत्यकाका केही सांसदलाई ब्लडप्रेसर बढिरहेको छ ? प्रेसर नबढाउनुस् ।’

प्रधानमन्त्रीलाई च्यालेन्ज गर्ने हैसियत कांग्रेसका सांसद्सँग नभएको बताउँदै महेशले भन्नुभयो, ‘एमाले संसदको सबैभन्दा ठूलो दल हो, त्यही रूपमा व्यवहार गरिनुपर्छ । सदन चल्न नदिने कांग्रेस, सदनमा ताईं न तुईको विरोध गरिहरने कांग्रेस, अनि प्रधानमन्त्री सदनमा आउनुभएन भनेर आलोचना गर्न मिल्छ ?’

२०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको भन्दै उहाँले प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ नगर्न भन्नुभयो ।