अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह : आ-आफ्नो स्थानबाट लागिपर्नुस्, सरकार तपाईंहरूको साथमा छ

व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह : आ-आफ्नो स्थानबाट लागिपर्नुस्, सरकार तपाईंहरूको साथमा छ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभामा फरक ढंगले प्रस्तुत हुनुभयो । सधैँको जस्तै प्रधानमन्त्रीले कार्यक्रममा बोल्नुभयो । तर अलि फरक । फरक यो अर्थमा कि, प्रधानमन्त्रीले राजनीतिक विषयमा बोल्नुभएन ।

प्रधानमन्त्री पुग्नुभएको अधिकांश कार्यक्रममा उहाँको चाखलाग्दो राजनीतिक भाषणको आशा गरिन्छ । तर, उपस्थित व्यवसायी माझ प्रधानमन्त्रीले प्रष्टैसँग भन्नुभयो- ‘म आज राजनीतिक कुरा गर्दिन ।’

राजनीतिको कुरा गर्दिन भन्दाभन्दै उहाँले केही वाक्य राजनीतिका कुरा गर्नुभयो र आफ्नो भनाईमा ‘लड्डु’ पनि घुसाउनुभयो । उहाँको भनाई यस्तो थियो, ‘कतिपयले भन्लान् आफ्नो कुरा गर्नु नि । धेरैले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ । तपाईंहरूसँग आएर मैले राजनीति बारे के भन्ने ? संगठनात्मक कुरा बताउने कि ? राजनीतिका दाउपेचका कुरा बताउने कि ? तपाईंहरूलाई लड्डु खान सिकाउने कि ? राजनीतिको के चाहिँ कुरा गर्ने ?’

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘तपाईंहरूसँग विजनेसका कुरा गर्न परेन ? उद्योग व्यवसायका कुरा गर्न परेन ?’

‘यो देश मैले बनाउनुपर्छ भनेर प्रण गर्नुस्,’ उहाँले भन्नुभयो, ‘आ-आफ्नो स्थानबाट लागिपर्नुस् । सरकार तपाईंहरूको साथमा छ । हिजो सरकारले पर्याप्त सहयोग गरेन होला तर आज हामी ती कुरालाई ट्रयाकमा ल्याउँदैछौँ । यसले गति लिन्छ र लिँदैछ ।’

प्रधानमन्त्रीले व्यापारीहरू माझ देशको व्यापार घाटा घटाउने मन्त्र भन्नुभयो, ‘अत्यावश्यक वस्तु मात्रै आयात गर्नुपर्छ । निर्यातमूलक वस्तुको उत्पादन गरेर धेरै भन्दा धेरै निर्यात गर्नेमा जोड दिउँ । आयात यस्तो वस्तु मात्र गरौँ जो हाम्रो जनजीवनका लागि आवश्यक छ, उपयोगी छ ।’

उहाँको भनाई थियो, ‘अनावश्यक आयात र व्यापार कम गर्यौँ भने व्यापार घाटा पनि कम हुन्छ र हामी सुधारतर्फ जान्छौँ । यसले हाम्रो व्यापार असन्तुलन र मुद्रास्फितीमा सुधार आउँछ ।’

उद्योगी व्यापारीहरूले निरन्तर भोग्दै आएको समस्या प्रधानमन्त्रीले यसरी व्यक्त गर्नुभयो, ‘एउटा उद्योग खोल्न पर्‍यो भने विभिन्न प्रक्रियाको जञ्जाल छ । एउटा कागज पास गर्न वर्षौं लाग्छ । प्लानिङ गर्दागर्दै आधा उमेर गइसक्छ । त्यस ढंगले होइन, सरलिकृत ढंगले अगाडि बढ्ने प्रक्रियालाई हामी प्रभावकारी बनाउँछौँ ।’

कोभिड-१९ महामारीको नयाँ लहरबारे पनि प्रधानमन्त्रीले बोल्नुभयो । आफू लकडाउनको पक्षमा नरहेको संकेत गर्दै भन्नुभयो, ‘कोभिड-१९ ले हाम्रो होटल, पर्यटन क्षेत्रमा नोक्सान गर्‍यो । तर, अन्य देशको तुलनामा त्यति धक्का खानु परेन । महामारी टरेको छैन । त्यसकारण महामारी बीच पनि जनजीवनलाई ठप्प पनि नपारौँ । सावधानी अपनाएर अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्रीले व्यापार घाटा कम गर्ने, औद्योगिकरण गर्ने, रोजगार सिर्जना गर्ने लगायतका सूत्र मात्र बताउनुभएन, कोभिड-१९ बाट बच्ने सूत्र पनि बताउनुभयो, ‘बाहिरफेर खान कम गर्नुपर्छ, ताजा खाना घरमै बनाएर खानुपर्छ । सुत्ने बेलामा बेसार पानी खानुस् । दूरी कायम गर्नुस्, मास्क लगाउनुस् । बाहिरी तथा शरिरको सरसफाईमा विशेष ध्यान दिनुस् । आत्तिनु पर्दैन ।’