अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जस्तोसुकै संकट आए पनि ओलीको साथ छोड्दैनाैँ : टोपबहादुर रायमाझी

जस्तोसुकै संकट आए पनि ओलीको साथ छोड्दैनाैँ : टोपबहादुर रायमाझी


काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलले जस्तोसुकै संकट आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाडुने बताउनुभएको छ ।

अर्घाखाँचीको सितगंगा-७ तामातालमा नौमुरे वहुउद्देश्यीय जलविद्युत आयोजनाको आयोजना साइट कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो ।

‘हाम्रो ट्युनिङ मिलेको छ, हाम्रो विचार मिलेको छ, राष्ट्र, राष्ट्रियता र समृद्धिको भावना मिलेको छ, जस्तोसकुै संकट आएपनि केपी ओलीको साथ छाड्दैनौं,’ रायमाझीको भन्नुभयाे ।

राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको काम ओलीबाहेक अरुबाट सम्भव छैन भन्ने कुरा पनि इतिहासले देखाएको मन्त्री रायमाझीले बताउनुभयो ।

केपी ओलीको नेतृत्वमा विकास र समृद्धि लक्ष्य पूरा गर्ने गतिमा देश अगाडि बढिरहेको उहाँले बताउनुभयो । केपी ओली अहिलेसम्मकै अब्बल नेता भएको भन्दै उहाँले यो कुरा देश र जनताले मानिसकेको प्रष्ट पार्नुभयो ।

‘राष्ट्रिय र राष्ट्रिय स्वाधिनताको पक्षमा दृढ रूपमा उभिने, राष्ट्र नायक, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसाथ अगाडि बढ्नुभएका, विकास र समृद्धिको नेतृत्व गर्नुभएका हाम्रा नेता केपी शर्मा ओलीलाई अरु भन्दा अब्बल नेताका रुपमा राष्ट्रले मानेको छ,’ रायमाझीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जति काम अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका पनि उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री र मन्त्री त अरू पनि भएकै हुन्, इतिहास पल्टाएर हेरौँ अरूले कति गरे ? ओलीले कति काम गर्नुभयो व्याख्या गर्न जरुरी छैन, जनताले राम्रोसँग बुझेका छन्,’ रायमाझीले भन्नुभयो ।

सरकार ढाल्ने, पार्टी फुटाउने र विग्रह ल्याउनेबाहेक अरूले केही गर्न नसकेका उहाँले बताउनुभयो । पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मन्त्री रायमाझीले भन्नुभयो, ‘खाली अराजक कुरा गर्ने, खाली मांसाहारी क्रान्तिका कुरा गर्ने, विकास र समृद्धिको एजेण्डा छ तर उनीहरू मांसाहारी आन्दोलन गर्ने भनेका छन्, ढुंगामुढा गरेका छन् ।’

शान्तिपूर्ण राजनीति आए पनि प्रचण्डमा युद्धको धङधङी बाँकी नै रहेको रायमाझीको भनाइ छ । त्यस्ता नेताहरूबाट समृद्धिको एजेण्डा पूरा नहुने बताउँदै उहाँले भन्नुभयो, ‘अब पनि विकास र समृद्धिको महान् एजेण्डा नै हाम्रो एजेण्डा हुनेछ, ओलीकै नेतृत्वमै यो पूरा हुनेछ ।’

केपी ओलीको नेतृत्वमा विकास र समृद्धिको महान अभियानमा देश अगाडि बढिरहेकाले ढुक्कसाथ बस्न उहाँले जनतालाई आग्रह गर्नुभयो । ‘जस्तोसुकै संकट आएपछि झेलेर अगाडि बढ्छौं, ढुक्कसाथ अगाडि बढ्नुस्, तपाईंहरुको साथमा हामी छौं, केपी ओलीकै नेतृत्वमा तपाईंहरुका सपना पूरा गर्छौं,’ रायमाझीले भन्नुभयाे ।