अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केपी ओलीलाई हल्लाउने तागत कसैसँग छैन’

‘केपी ओलीलाई हल्लाउने तागत कसैसँग छैन’


रामेछाप- प्रधानमन्त्री केपी ओलीलाई हल्लाउने तागत कोहीसँग नभएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचुरेमा आइतबार नेकपा एमाले वडा कार्यालयको उद्घाटन गर्दै मन्त्री ढुंगेलले जनताको जगमा उभिएको नेता केपी ओली भएको बताउनुभयो ।

‘प्रचण्डको केही लागेन, माधव नेपालको केही लागेन, शेरबहादुर देउवाको केही लागेको छैन, राजसंस्था विघटन नै भएर गयो, त्यसको केही लागेन, केपी ओलीलाई कसैले हल्लाउन सक्दैन,’ उहाँले भन्नुभयो । देशभर केपी ओलीको पुत्ला र फोटो जलाउनेलाई एमालेमा ल्याउन नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘गल्ती नस्वीकार्नेलाई पार्टी नेता कार्यकर्ताले क्षमा दिन सक्दैनन् ।’

एमाले महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा हारेदेखि नै माधव नेपालले निहु खोज्न थाल्नुभएको ढुंगेलले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हारेकै दिनदेखि त्यो विषय उठाउँदै उठाउँदै आएर प्रचण्डको आड भरोसा पाउनुभएछ क्यारे माइतीघर मण्डलाबाट केपी ओलीलाई कारबाही गरिदिएँ, म नै अध्यक्ष भएँ भन्नुभयो ।’

प्रचण्डको काँधबाट झर्ने बित्तिकै एमालेमा अएपनि माधवको मति नसुध्रिएको उहाँले बताउनुभयो । प्रचण्डसँग मिलेर अध्यक्षविरुद्धको अभियोग पत्रमा सही गर्नुभएका माधव त्यो फिर्ता नलिइ निहु खोज्नकै लागि एमालेमा आएको उहाँले बताउनुभयो ।

जुनसुकै पार्टीमा पुगेपनि प्रधानमन्त्री र अध्यक्ष पदका लागि माधव र प्रचण्डले मरिहत्ते गर्न नछाड्ने समेत ढुंगेलले बताउनुभयो । ‘पार्टीलाई कमजोर बनाउने, राष्ट्रियतालाई कमजोर पार्ने, विदेशीसँग साँठगाँठ गर्ने, राष्ट्रवादी राजनेता केपी ओलीलाई कमजोर बनाउने खेल भयो,’  ढुंगलले भन्नुभयो ।

पार्टी एकतापछि तीन वर्षसम्म पार्टीको ब्यानर र झण्डा पोको पारेर राख्नु पर्ने अवस्था आएको उहाँले स्मरण गर्नुभयो । सर्वोच्च अदालत पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमालेमा पर्व आएजस्तो उल्लास छाएको समेत बताउनुभयो ।