अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालीसँग बिहे गर्ने भारतीय महिलालाई तत्काल नागरिकता दिनुपर्छ : सांसद यादव

नेपालीसँग बिहे गर्ने भारतीय महिलालाई तत्काल नागरिकता दिनुपर्छ : सांसद यादव


काठमाडौं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपाली नागरिकसँग बिहे गरेर आउने भारतीय महिलालाई तत्काल नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले नागरिकतासम्बन्धी ऐन २०७७ मा उल्लेख गरिएका केही विषयहरू संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । एक हातले सिन्धुर एक हातले नागरिकता दिनुपर्ने यादवको ठहर छ ।

संविधानमा जन्मसिद्ध नागरिकता सम्वन्धी ऐन स्वागतयोग्य रहेको तर अंगिकृत नागरिकता सम्वन्धी व्यवस्था विवादास्पद रहेको प्रदीपले बताउनुभयो ।

‘भारतबाट विवाह गरेर नेपाल आउने चेली देशद्रोही हुन सक्ने आँकलन सरकारले गरेको छ तर आज सम्म कुनै चेलीले देशद्रोही काम गरेको इतिहास छैन, यो ऐन तत्काल संसोधन हुनुपर्छ,’ सांसद यादवले भन्नुभयो ।

उहाँले भारतीय नारी कस्ता हुन्छन् भन्ने राम्रो उदाहरण पूर्व युवराज्ञी हिमानी शाह भएको बताउनुभयो । ‘सिन्दुरको कदर कसरी हुन्छ, उनीबाट सबैले सिक्नुपर्छ, उनले कसरी राष्ट्रघात गरेकी छन् ?,’ प्रदीपले प्रश्न गर्नुभयो । भारतीय चेलीले नेपालमा बिहे गर्दा नागरिकता लिन ७ वर्षे प्रावधान हटाइनुपर्ने माग यादवले गर्नुभयो ।

नागरिकता सम्बन्धी ऐन २०७७ कानुन संसोधन गरी कानुन बनाए मात्र मधेशी जनताको अधिकार सुनिश्चित हुने सांसद यादवको भनाइ छ ।

‘मधेशीलाई होच्याउने गरी ७ वर्षे प्रावधान ल्याइएको छ, यो विभेदपूर्ण प्रावधान पास भयो भने हामीलाई भलो गर्दैन, नेपाल र भारतको सम्बन्धलाई प्रहार गर्छ, त्यसैले नेपालीसँग बिहे गर्ने भारतीय नारीलाई नागरिकतामा ७ वर्षे प्रावधान पुनरावलोकन गरिनुपर्छ,’ उहाँले भन्नुभयो ।

यो कानुन संसोधन नभए भारत र नेपालको सम्वन्धमा दरार आउनसक्ने यादवले बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘राणाहरूदेखि देशका राजा सम्मले भारतीय नारी विवाह गरेका छन्, उनीहरूलाई नागरिकता नदिएको हो र ?’

नागरिकताको सम्बन्धमा पहिलादेखि नै मधेस हेपिएको समेत यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सम्म जन्मसिद्ध नागरिकता नपाएका पनि कयौँ नागरिक मधेसमा छन्, नागरिकता नपाएकालाई नागरिकता दिएर अंगिकृत नागरिकता सम्वन्धी ऐन संसोधन गरे नागरिकता विधेयक सम्मानजनक रहन्छ ।’