काठमाडौं- नेपाली राष्ट्रिय १९ वर्षमुनि (यू-१९) को क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक ७० लाख रुपैयाँ उपलब्ध गराउने छ ।
हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ । यस सम्झौतासँगै अब नेपाली यू-१९ क्रिकेट टोलीको नाम वाइवाई यू-१९ क्रिकेट टोली रहनेछ ।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
त्यस्तै, क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताउनुभयो ।
प्रतिक्रिया