अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो


काठमाडौं- सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ ।

संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो ।

सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।’ सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै रु तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्रवक्ता भट्टराईले बताउनुभयो । अहिले मन्त्रालयले आवश्यक सबै कागजात तयार गरेर संस्थालाई उपलब्ध गराएको छ ।

सरकारले बस खरिद पुनः अघि बढाउन भनेसँगै संस्थाले पनि खरिद प्रक्रिया अघि बढाइएको छ । संस्थाले ४० बस खरिदका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक यातायातमा सरकारको प्रत्यक्ष लगानी नभए पनि सबैभन्दा बढी सरकारको सेयर रहेको संस्थाका रुपमा रहेको छ ।

सङ्घीय सरकार मात्रै होइन काठमाडौंं उपत्यकाका पालिकाले पनि संस्थाका सेयर खरिद गरेका छन् । संस्थाले ती पालिकासँगको सहकार्यमा सवारीसाधन सञ्चालन गर्दै आएको छ ।