धनगढी– तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम हिनामिना भएको प्रकरण चर्चामै रहेका बेला बझाङमा १७ लाख रुपैयाँ हिनामिना भएको खबर बाहिरएको छ ।
सुदूरपश्चिम प्रदेशकै अर्को जिल्ला बझाङमा १७ लाख रुपैयाँ माधव नेपाल पक्षका नेता भानुभक्त जोशीले हिनामिना गरेको आरोप छ । एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाका अनुसार बझाङ जिल्ला पार्टी कार्यालयको नाममा रहेको १७ लाख रुपैयाँ पनि हिनामिना भएको छ । ‘त्यसमध्ये १३ लाख रुपैयाँ तत्कालिन नेकपा जिल्ला अध्यक्ष मीनबहादुर कुँवरको नाममा छ,’ थापाले नेपालीबहस डट कमसँग भन्नुभयो, ‘४ लाख रुपैयाँको खोजी भइरहेको छ । तर यो रकम सार्ने काम भानुभक्त जोशीबाट भएको हो ।’ कुँवर नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ ।
रकम फिर्ता गराउनका लागि प्रदेश कमिटीले कानूनी प्रक्रिया सुरु गरेको थापाको भनाइ छ । ‘हामी कानुनी हिसाबले अघि बढ्दैछौं । हिनामिना गर्ने सबैलाई बैंकिङ कसुरमा मुद्धा हाल्दैछौं,’ थापाले भन्नुभयो, ‘केही वकिलहरूले मुद्दाको तयारी गर्दै हुनुहुन्छ । ’
प्रदेश कार्यलयमा रहेको ३८ लाख रुपैंया झिकिएको छ । ‘पार्टीको खातामा रहेको रकम झिक्ने प्रक्रिया हुन्छ । त्यसमा माग फारम भर्नुपर्छ । के प्रयोजनका लागि भन्ने खुलाउनु पर्दछ,’ थापा भन्नुहुन्छ ‘त्यसमा अध्यक्षको हैसियतले मैले हस्ताक्षर गर्नुपर्दछ । तर यी कुनै प्रक्रिया नपु¥याई रकम कब्जा गर्ने हिसाबले खाताबाट निकालिएको छ । त्यसैले हामी बैंकिङ कसुर मुद्दा हाल्दैछौं । अदालतबाट फैसला गराएर त्यो पैसा तिराउँछौं ।’
थापाका अनुसार प्रदेश कार्यालयको ३८ लाख मध्ये ३० लाख रुपैयाँ प्रदेश पार्टी कार्यलयका सचिव दिनेशचन्द्र सुवेदीको नाममा फेला परेको छ । ५ लाख रुपैयाँ केशव रावलको नाममा चेक काटिएको छ । अरु ३ लाख कस्ले निकाल्यो त्यसको खोजी भइरहेको थापाले बताउनुभयो ।
प्रतिक्रिया