अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले आफ्नै कारणले दुःख पाउनुभयो : टोपबहादुर रायमाझी

प्रचण्डले आफ्नै कारणले दुःख पाउनुभयो : टोपबहादुर रायमाझी


काठमाडौं- एमाले नेता एवं उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीको पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै गल्तीका कारण दुःख पाएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै अध्यक्ष र नेतालाई नमान्दा प्रचण्ड सडकमा पुग्नुभएको बताउनुभयो ।

‘केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष सुरूमा उहाँले नै मान्नुभयोे, हामी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मानेर बसेका छौँ, प्रचण्डजी सडकमा मात्र होइन कताकता जानुभयो,’ रायमाझीले भन्नुभयो ।

आफूहरूले छाडेको नभइ आफूहरूलाई छाडेर प्रचण्ड हिँड्नुभएको समेत रायमाझीले बताउनुभयो । ‘हामी त प्रचण्डले लगेर मिसाइदिएको पार्टीमा नै छौँ, विचार मिलेको छ बसिरहेका छौँ, बसिरहन्छौँ,’ उहाँले भन्नुभयो ।

प्रचण्ड र माओवादी पार्टीमा राजनीतिक विचलन आएको पनि उहाँले बताउनुभयो । पहिलो संविधान चुनावमा पहिलो पार्टी भएको माओवादी खस्कदै जानु भनेको माओवादीमा आएको विचलन भएको रायमाझीको भनाइ छ । उहाँले प्रश्न गर्नुभयो, ‘यसमा नेतृत्वले जिम्मा लिनु पर्दैन ?’

माओवादीले सञ्चालन गरेको जनयुद्धले बाहिर राम्रै सन्देश दिएको भए पनि त्यसभित्रको कथा व्यथा भनि नसक्नुको भएको उहाँले बताउनुभयो । यसलाई विस्तारै सार्वजनिक गर्दै जाने पनि उहाँले बताउनुभयो ।

पूर्व जनमुक्ति सेना अहिले माओवादीको कारण निराश भएको उहाँले बताउनुभयो । माओवादी जनयुद्धका लडाकूको व्यवस्थापन माओवादी सरकारमा जाँदा हुन नसकेको रायमाझीको टिप्पणी छ ।

माओवादी जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका घाइतेलाई केपी ओली नेतृत्वको सरकारले निशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै उहाँले् यो ऐतिहासिक निर्णय भएको बताउनुभयो । उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गर्ने सरकारको निर्णय अर्को ऐतिहासिक निर्णय भएको बताउँदै रायमाझीले भन्नुभयो, ‘जनयुद्धका नायक भन्ने साथीहरूले गर्नुपर्ने थियो कि थिएन यो काम ? मुटु भक्कानिन्छ ।’

प्रचण्डको क्रियाकलापको कारण उहाँलाई छाड्न बाध्य भएको रायमाझाीले बताउनुभयो । ‘माओवादी किन छाडिस् भन्नुहुन्छ, किन नछाड्ने, किन बस्ने ?,’ उहाँले प्रश्न गर्नुभयो ।

माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार नढल्ने बताउँदै उहाँले भन्नुभयो, ‘जसले सरकारको विरोध गर्दै हुनुहुन्छ उहाँहरू नै समर्थन फिर्ता लिनुहुन्न, उहाँले फिर्ता नलिएसम्म सरकार ढल्दैन, प्रधानमन्त्रीले त समर्थन फिर्ता लिनुस् भन्नुभएको छ, उहाँहरू फिर्ता लिन मान्नुहुन्न, यसलाई हेर्दा सरकार पूरै ५ वर्ष चल्ले जस्तो देखियो ।’

नयाँ सरकारका लागि जसपा र कांग्रेसभित्र पनि छलफल चलिरहेको उहाँले बताउनुभयो । राजनीतिक स्थिरताको लागि सरकारले सबैसँग छलफल गर्ने बताउँदै मन्त्री रायमाझीले भन्नुभयो, ‘कुरा चलिरहेकाले सरकार चलिरहेको छ, आवश्यक पर्दा सबैसँग छलफल हुन्छ ।’