अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन-नारायणगढ सडकमा १५ वटा पुल निर्माणाधीन

मुग्लिन-नारायणगढ सडकमा १५ वटा पुल निर्माणाधीन


काठमाडौं- मुग्लिन नारायणगढ सडक खण्डमा आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने गरी १५ वटा पुल निर्माण भइरहेका छन् ।

सडक विभाग अन्तर्गत पुल महाशाखा प्रमुख दिपक श्रेष्ठका अनुसार केही पुल निर्माणाधिन छन्, केही निर्माण सुरू हुने चरणमा छन् । यो सडक खण्ड गत वर्षदेखि विस्तार भएर १२ मिटर भएको छ तर पुलहरु पुरानौ संरचनामा भएकोले विस्थापन गर्नु परेको श्रेष्ठले बताउनुभयो ।

यस आर्थिक वर्षभित्र तीन वटा पुल निर्माण सम्पन्न हुने अवस्थामा छन् । श्रेष्ठका अनुसार सेतीदोभान, खहरे खोला, जलबीरे खोलाको पुल निर्माणको अन्तिम चरणमा छन् ।

यहाँ निर्माण गर्नुपर्ने केही पुलहरूमा कठिन भूगोलका कारण समस्या भएको आयोजना अमृतमणि रिमालले जानकारी दिनुभयो । तुइन खोला, किसनजीलगायतका खोलामा अफ्ठ्यारो भूगोल भएकोले पुलको डिजाइन नै तयार गरिएको छैन । यी ठाउँहरूमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर पुल निर्माण गर्नेगरी सडक विभागले तयारी गरेको छ ।

सडक फराक भए पनि पुल साँघुरा भएका कारण अझै पनि सडकको यस खण्डमा सवारी जाम हुने गरेको छ । पुल निर्माण सम्पन्न भएपछि करिब २० मिनेटमा यस खण्डको ३६ किमि दुरी यात्रा गर्न सकिने पुल महाशाखाको अनुमान छ ।