काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कम्पनीप्रति कडा निगरानी राखेकाले वर्तमान सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आएको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित ‘मेरो कित्ता’कार्यक्रमको उद्घाटन गर्दै उहाँले लगातारको कडाइकै कारण वर्तमान सरकारकै पालामा मेलम्चीको पानी काठमाडौं आएको बताउनुभएको हो ।
‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी काठमाडौंमा आउने थिएन । कडाई गरेर, निर्माण कार्यमा तीव्रता दिएर मात्र मेलम्चीको पानी काठमाडौंमा आएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
साथै, उहाँले अपर तामाकोशीको निर्माण ढिलाइप्रति सरकार गम्भीर भएको बताउनुभयो । उहाँले मेसिन अभाव देखाएर केही व्यक्तिले यो आयोजनाको काममा बाधा पुर्याइरहेको समत संकेत गर्नुभयो ।
‘अपर तामाकोशीको निर्माण कार्यमा असाधारण ढिलासुस्ती भइरहेको छ । यो आयोजना निर्माण नहुँदा दैनिक १३ करोड नोक्सान भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘केही मान्छेको ढिलासुस्ती हो वा अरू केही हो हेर्नुपर्ने भएको छ ।’
विकास निर्माण ढिलासुस्ती सह्य नहुने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले काममा ढिला सुस्ती, व्यवधान गरे त्यसमा हुने क्षति पनि उसले नै ब्यहोर्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया