अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मालपोत र नापीको बेथिति रोक्न ‘मेरो कित्ता’ कार्यक्रम : मन्त्री तुम्बाहाङ्फे

मालपोत र नापीको बेथिति रोक्न ‘मेरो कित्ता’ कार्यक्रम : मन्त्री तुम्बाहाङ्फे


काठमाडौं- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले मालपोत र नापीमा हुने बेथिति रोक्न ‘मेरो कित्ता’ अनलाइन प्रणाली सुरुवात गरिएको बताउनुभएको छ ।

नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले यस्तो बताउनुभएको हो ।

जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको पनि उहाँले बताउनुभयो । जग्गा ऐन, सुशासन ऐन लगायत ऐनमा टेकेर काम गरिएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।

उहाँले कार्यालयमा हुने ढिलासुस्ती र बेथितीलाई रोक्न यो कार्यक्रम ल्याइएको बताउनुभयो । ‘सेवाग्राहीको सहजताको लागि, छिटोभन्दा छिटो जनतालाई सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुरूप हामीले यो कार्यक्रम ल्याएका हौँ,’ उहाँले भन्नुभयो ।

नेपाल डिजिटल युगमा प्रवेश गरेको भन्दै मन्त्री तुम्बाहाम्फेले सबै क्षेत्रलाई प्रविधिसँग जोड्ने योजना सरकारको रहेको पनि बताउनुभयो । ‘डिजिटल नेपालको अवधारणा अनुसार हामीले ‘मेरो कित्ता’ कार्यक्रम ल्याएका छाैँ, अब हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर जनताका लागि सहज बनाउन जरुरी छ, यसका लागि सरकारले काम गरिहेको छ,’ उहाँले भन्नुभयो ।

डिजिटल नेपाल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुरूप यो कार्यक्रम सरकारले लागू गरेको उहाँले बताउनुभयो । सरकारले सेवा दिएका ठाउँमा जनताले गुनासो गर्ने स्थिति सिर्जना हुन नदिन मन्त्री तुम्बाहाम्फेले कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।