अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठकमा तीन एजेण्डामा छलफल

सर्वदलीय बैठकमा तीन एजेण्डामा छलफल


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मुख्य तीन वटा एजेण्डामा छलफल भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी ढंगले काम गरोस भन्ने सुझाव सबै दलले दिएको वहाँले बताउनुभयो ।

‘कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालोस । यसमा हाम्रो साथ रहन्छ भन्ने सबै दलको धारणा थियो,’ ज्ञवालीले सञ्चारकर्मीसँग भन्नुभयो ‘हट स्पटहरूका विद्यालय बन्द गरोस् । भीडभाड गर्न गराउन बन्द गराओस् भन्ने सुझाव दिनुभएको छ ।’

दोस्रो एजेण्डामा विभिन्न कारणले रिक्त रहेका संघीय र प्रदेशसभाका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउने बिषयमा छलफल भएको छ । निर्वाचनको कार्यतालिकाका विषयमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा कांग्रेस सभापति देउवाले आफ्नो पार्टीको महाधिवेशन प्रभावित नहुने गरी कार्यतालिका सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

‘भदौमा हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशन छ । त्यसलाई प्रभावित नगर्ने गरी उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरियोस्,’ देउवाको भनाइ उधृत गर्दै ज्ञवालीले भन्नुभयो, ‘तपाईंहरूसँग परामर्श गरेरै उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

तेस्रो एजेण्डा थियो बहुचर्चित एमसीसी । एमसीसी पास गर्ने नगर्ने भन्ने विषय संसदको भएको तर सभाुमखले यसलाई संसदमा पेश नगरेकोमा दलहरूले आक्रोश व्यक्त गरेको ज्ञवालीले बताउनुभयो ।

‘एमसीसी पास गर्ने कि नगर्ने त्यो संसदको विषय हो तर सभामुखले तजविजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन,’ दलका प्रतिनिधिहरूले राखेको धारणा सुनाउँदै ज्ञवालीले भन्नुभयो, ‘केही दल यसको आलोचक भए पनि जे हुन्छ संसदमै हुन्छ । सभामुखले रोकेर राख्न नमिल्ने भएकोले अविलम्ब संसदमा पेश गर्नुपर्छ भन्ने सबैको साझा धारणा रह्यो ।’