अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी


काठमाडौं- शनिबारदेखि काठमाडौंमा सुरू भएको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गनुभयो । कुशलले ४६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रन बनाउनुभयो ।

योसँगै उहाँले डेब्यू म्याचमै कम बलमै अर्धशतक बनाउने कीर्तिमानसमेत बनाउनुभएको छ । कुशलले ३० बलमा अर्धशतक पूरा गर्नु भएको थियो ।

त्यस्तै, अर्का ओपनर शेखले ३८ बलमा चार चौका चार छक्कासहित अविजित ५४ रन बनाउनुभयो । उहाँको पनि यो डेब्यू म्याच हो ।

आशिफ र कुशलबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी बन्यो । योसँगै उहाँहरूले पारस खड्का र ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गर्नु भएको थियो ।

यसअघि टी-२० मा नेपालको तर्फबाट पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रबीच १०८ रनको साझेदार बनेको थियो । उहाँहरूको सो कीर्तिमान आज कुशल र आशिफले भंग गर्नु भएको थियो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिनुभयो ।

बलिङमा जुलियनडे मेले एक विकेट लिनुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाउनुभयो ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिनुभयो ।

उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पार्नुभएको हो । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिनुभयो ।