अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विशाल भट्टराईको नजरमा एमाले बलियो हुनुका पाँच कारण

विशाल भट्टराईको नजरमा एमाले बलियो हुनुका पाँच कारण


काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेसँग पाँच शक्ति भएकोले पार्टी जतिसुकै चोइटिए पनि दोस्रो नहुने बताउनुभएको छ ।

एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमालेसँग भएका पाँच शक्तिको व्याख्या गर्नुभएको छ ।

भट्टराईका अनुसार नेकपा एमाले नामको पार्टी तीन दशक देखि नेपालीको मनमनमा बसेको नाम हो । ‘जो जता लागे पनि मानिसहरूले नेकपा एमाले छोटकरी नाम एमाले भन्ने पार्टी जनताको मनभित्र गढेर बसेको छ,’ भट्टराईले भन्नुभयो, ‘यो हाम्रो ठूलो शक्ति हो ।’

भट्टराईले दोस्रो शक्तिको रूपमा सूर्य चिन्हलाई अघि सार्नु भएको छ । जनताले २०४८ साल यताका नौ वटा निर्वाचनमा नविर्सी मतदान गरेको सूर्य चिन्ह आफूहरूसँग भएकोले यो शक्तिशाली पार्टी भएको बताउनुभएको छ ।

तेस्रो शक्तिको रूपमा जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद एमालेसँग भएको भट्टराईले बताउनुभयो । ‘जननेता मदन भण्डारी र जनताको बुहदलीय जनवाद एमालेको शक्ति आजर्न गर्ने ठूलो माध्यम हो, जुन हामीसँग मात्र छ,’ भट्टराईले भन्नुभयो, ‘अनि कोइ चोइटिएर जाँदैमा हामीले किन चिन्ता गर्नुपर्ने ?’

भट्टराईले एमालेको चौथो शक्तिको रूपमा लाखौँ प्रतिबद्ध कार्यकर्ता आफूहरूसँग रहेको दाबी गर्नुभएको छ । ‘हामीसँग नङ र मासुको सम्बन्ध भएका लाखौँ कार्यकर्ता छन् । जो एमालेप्रति सदैव प्रतिबद्ध छन्,’ भट्टराईले भन्नुभयो, ‘त्यसो हुँदा अन्य पार्टीका कार्यकर्ताको आकर्षणको केन्द्र पनि एमाले नै बन्नेछ ।’

पाँचौ शक्तिको रूपमा भट्टराईले भिजिनरी लिडरको रूपमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहेको उल्लेख गर्नुभएको छ ।

‘पार्टी मात्र होइन देशलाई नै सही नेतृत्व गर्न सक्ने भिजिनरी लिडर केपी शर्मा ओली हामीसँग हुनुहुन्छ,’ भट्टराईले भन्नुभयो, ‘त्यसले गर्दा हामी कसैले पार्टीको आकार घट्छ कि भनेर चिन्ता गर्नु पर्दैन । हामीसँग भएका पाँच शक्तिले एमालेलाई सदैव पहिलो बनाउनेछ ।’