अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको फेक डकुमेन्ट प्रकरण : सम्पादकहरू धमाधम माफी माग्दै समाचार हटाउँदै

प्रधानमन्त्रीको फेक डकुमेन्ट प्रकरण : सम्पादकहरू धमाधम माफी माग्दै समाचार हटाउँदै


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको फेक डकुमेन्ट प्रकरणका सम्पादकहरूले धमाधम गल्ती स्विकार गर्दै माफी मागेका छन् ।

प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराका अनुसार केही अनलाइनले समाचार हटाएर साइटमै क्षमा याचना गरेका छन् ।

उज्यालो नेटवर्कले समाचारलाई हटाएर यस्तो लेखेको छ, ‘असावधानीका कारण समाचार प्रकाशित हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ ।’

त्यस्तै, समाचार दैनिक डटकमले प्रधानमन्त्री र रअ प्रमुखबीच लेखिएको सो भ्रामक समाचार हटाउँदै माफी मागेको छ ।

‘हामीबाट संचालित समाचार दैनिक डटकम अनलाइन पत्रिकामा ‘रअ प्रमुख र ओलीबीच चार बुँदे सहमति, ६ महिनापछि भयो खुलासा !‘ शीर्षकमा मिति २०७८-०१-०२ गते असावधानीका कारण समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जगतमा पत्रकार आचार संहिता प्रतिकूल भएको भनि विभिन्न कोणबाट गम्भीर प्रश्न उठेको यहाँहरूलाई बिदितै छ,’ समाचार दैनिकका सम्पादक बासुदेव शर्मा बविनले लेखेका छन्, ‘पत्रकार आचारसंहिताविरूद्धको सामग्री असावधानीवश उज्यालो नेटवर्कबाट समाचार साभार गरी प्रकाशित हुन गएकाले प्रेस काउन्सिलको निर्देशनबमोजिम वेब साइटबाट उक्त सामाग्री हटाइएको सम्पूर्ण पाठकवर्गलाई जानकारी गराउन चाहन्छौं । आगामी दिनमा पत्रकारिताको आचारसंहिता बमोजिम सावधानी अपनाउने प्रतिबद्धता पनि जनाउछौं ।’

त्यस्तै, सो समाचार हटाउँदै पिएलएखबर डटकमले पनि माफी मागेको छ । ‘पिएलएखबर डटकममा प्रकाशित ‘रअ प्रमुख र ओलीबीच चार बुँदे सहमति, ६ महिनापछि भयो खुलासा ! ‘ शीर्षकमा मिति २०७८-०१-०२ गते असावधानीका कारण समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जगतमा पत्रकार आचार संहिता प्रतिकूल भएको भनि विभिन्न कोणबाट गम्भीर प्रश्न उठेको यहाँहरूलाई बिदितै छ,’ पिएलखबरले लेखेको छ, ‘पत्रकार आचारसंहिताविरूद्धको सामग्री असावधानीवश समाचार दैनिक डटकम अनलाइन बाट साभार गरी प्रकाशित हुन गएकाले प्रेस काउन्सिलको निर्देशनबमोजिम वेब साइटबाट उक्त सामाग्री हटाइएको सम्पूर्ण पाठकवर्गलाई जानकारी गराउन चाहन्छौं । आगामी दिनमा पत्रकारिताको आचारसंहिता बमोजिम सावधानी अपनाउने प्रतिबद्धता पनि जनाउछौं ।’

‘केहीले अनलाइनमा नभइ काउन्सिलमा मात्र क्षमा याचना गरेकोले सबैलाई आफ्नो साइटमा क्षमा याचना गरेर समाचार हटाएर त्यसपछि प्रेस काउन्सिल आउनुहोस् भनेका छौँ,’ बोहराले नेपाली बहस डटकमसँग भन्नुभयो ।

काउन्सिलले छ वटै अनलाइनका सम्पादकहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन भन्दै पत्र पठाएको थियो । ‘सबैले इमेलमा स्पटिकरण पठाउनुभयो । आज उहाँहरू काउन्सिलमा उपस्थित हुनुहुन्छ,’ बोहराले भन्नुभयो ।

उज्यालो नेटवर्क नामको अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय खुपिया एजेन्सी रअका प्रमुख सामन्त गोयल बीच छ बुँदे सहमती भएको भन्दै एउटा पत्र सार्वजिनक गरेको थियो । उक्त पत्र नक्कली भएको पुष्टि भएपछि काउन्सिलले राष्ट्रिय अखण्डतामा नै गम्भीर आँच पुगेको भन्दै सम्पादहरूसँग स्पष्टिकरण माग गरेको थियो ।

यस्तो, डकुमेन्ट सहित समाचार प्रकाशन गर्ने अनलाइनहरू उज्यालो नेटवर्क डटकम, सुदर्शन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपालीगाथा डटकम, पीएलखबर डटकम र कान्तिपथ डटकम थिए ।