अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताउनुभएको छ । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो ।

‘राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो,’ उहाँले भन्नुभयो ।

गौतम बुद्ध जन्मेको देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति अघि बढाइएको ज्ञवालीले सुनाउनुभयो । ‘शान्ति हाम्रो परराष्ट्र नीतिको अभिन्न अङ्ग हो, हामीले संयुक्त राष्ट्रसंघको छाताभित्र रहेर विश्वका अन्य देशमा समेत शान्ति कायम गर्न चाहेका छौँ,’ मन्त्री ज्ञवालीले भन्नुभयो । नेपालले सधैँ हातहतियार निशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उहाँको भनाइ थियो । परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई विषेश प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीले सुनाउनुभयो ।

आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति भएको मन्त्री ज्ञवालीको भनाइ थियो । ‘आर्थिक कूटनीतिमा जोड दिएका छौँ, लगानी र पर्यटन प्रवद्र्धन मुख्यरुपमा अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो ।

झण्डै ५० लाख नेपाली विदेशमा रहेको सुनाउँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्ति रहेकाले त्यसलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पार्नुभयो । परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

‘सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विदेश नीति सबैको एउटै हुनुपर्छ,’ उहाँले भन्नुभयो । परराष्ट्र नीति सार्वजनिक गरे पनि सरकारले सबै निकायसित आवश्यक छलफल र परामर्श नगरेकामा उहाँले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष आपत्ति प्रकट गर्नुभयो । ‘परराष्ट्र नीतिबारे सबैसित गहनरूपमा छलफल गरिनु पर्छ,’ नेपालले भन्नुभयो ।

समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले नेपालको परराष्ट्र नीति बेलाबेलामा परिवर्तन हुँदै आएको र अबका दिनमा त्यस्तो हुन नहुने बताउनुभयो । उहाँले सन्तुलनको कूटनीति आवश्यक भएको उल्लेख गर्नुभयो । राणाकालीन अघिको सन्तुलित नीतिबारे सरकारद्वारा जारी परराष्ट्र नीतिमा उल्लेख नगरिएकामा कार्कीले आपत्ति प्रकट गर्नुभयो ।

समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले बाह्य सम्बन्धबारे सबै पार्टीको धारणा एउटै हुनुपर्ने बताउनुभयो । सबैको अनुभव समेटेर परराष्ट्र नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै समतिका सदस्य मोहन बानियाँले सरकारैपिच्छे फरकफरक परराष्ट्र नीति हुन नहुनेमा जोड दिनुभयो । रासस