अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु : सभामुख सापकोटा

मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु : सभामुख सापकोटा


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताउनुभएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न सुरू गर्दैगर्दा त्यहीँबाट घेराबन्दी सुरू भएको र अहिले पनि त्यो जारी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौंमा भएको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले भन्नुभयो, ‘संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधैंभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।’

उहाँले महान् बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान् सत्यको जन्म हुने उल्लेख गर्नुभयो । मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नेले के भन्छन् भन्ने कुरालाई वास्ता नगरी लुरुलुरु अगाडि बढिरहेको जिकिर गर्नुभयो ।

‘मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन,’ सभामुख सापकोटाले प्रष्टीकरणका साथ भन्नुभयो । उहाँले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पार्नुभयो ।

जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताउनुभयो ।

सभामुख सापकोटाले मुलुकमा अहिले तटस्थको होस् भनेर चाहनेभन्दा पनि मेरो पक्षमा काम गरेन अथवा मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनीहित भावना देखिएको बताउनुभयो ।

उहाँले आफूले जिम्मेवारी सम्हालुञ्जेल देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि कुनै कुराको त्याग गर्न र जोखिम लिन कठिनाइ नहुने उहाँको भनाइ थियो । यसमा पत्रकारले शक्तिशाली जनमत बनाइरहेकामा पत्रकारिता क्षेत्र प्रति नै गर्व लागेको उहाँले सुनाउनुभयो ।

राज्यको महान् बहसमा सामेल हुन सबैलाई आग्रह गर्दै सभामुख सापकोटाले बहस छेडिएपछि त्यो सही निष्कर्षमा पुग्ने र सत्यको अन्वेषण हुने बताउनुभयो । उहाँले मुलुकसामु चुनौती खडा भएकाले त्यसलाई सामना गर्दै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले ठीक ढङ्गले काम गर्ने हो भने उत्पन्न समस्या समाधान गर्ने सन्दर्भमा कुनै कठिनाइ नहुनेसमेत बताउनुभयो ।

‘पहिलेपहिले समुद्र मन्थन भनिन्थ्यो अहिले, महान् बहसको बीचबाट अघि बढेका छौँ, कहिलेकाहीँ शून्य-शून्य जस्तो अन्योल र अलिकति राजनीतिक शून्यताको स्थिति देख्नुभएको छ नी, त्यो बाहिरको आवरणमा मात्रै हो, भित्रभित्रै बहसमा छ, निस्किएर प्रष्फुटन हुन्छ,’ सभामुख सापकोटाले भन्नुभयो ।

उहाँले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन सङ्कल्पका साथ अघि बढेकाले गुणात्मक कानून निर्माणमा कुनै सम्झौता नहुने प्रष्ट्याउनुभयो । विधेयक अड्काएको आरोप खेप्नु भएका सभामुख सापकोटाले त्यसलाई सङ्केत गर्दै सार्वजनिक कानून निर्माण गर्दा एउटा शब्दावलीले जमिन-आसमानको फरक पार्ने हुँदा सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।