अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय भेला गर्दै एमालेनिकट खेलकुद महासंघ, एक करोडलाई सदस्यता दिने योजना

राष्ट्रिय भेला गर्दै एमालेनिकट खेलकुद महासंघ, एक करोडलाई सदस्यता दिने योजना


काठमाडौं- नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले एक करोडलाई सदस्यता दिने भएको छ । पहिलो चरणमा सो संगठनले १२ लाख सदस्य पुर्‍याउने भएको छ ।

सो संघको मंगलबारबाट हुने पहिलो कार्यकर्ता भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेला आयोजना हुन लागेको हो । महासंघका संयोजक रमेश पौडेलले पहिलो चरणमा १२ लाखलाई सदस्यता दिन लागिएको जानकारी दिनुभयो ।

राष्ट्रिय भेलाबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा देशभरिबाट एक हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

महासंघका नेता प्रभातविक्रम कटुवालका अनुसार यो महासंघले आउँदो आमचुनावमा एमालेलाई देशको नम्बर एक पार्टी बनाउने लक्ष्य राखेको छ ।

कटुवालले राजनीतिमा लागेका व्यक्तिहरूले खेल गतिविधिका माध्यमबाट पनि देश र समाजको सेवा गर्नुपर्ने बताउनुभयो । संयोजक रमेश पौडेलले खेलकुद महासंघलाई विभाजित गर्ने उद्देश्यले केही व्यक्तिले गतिविधि गरेको आरोप लगाउनुभयो ।

एमालेले ०६६ सालमा खेलकुद महासंघ स्थापना गरेको थियो । माओवादीसँग एकीकरण भएपछि यो महासंघ निष्क्रिय प्राय थियो । माओवादीसँगको एकता भंग भएपछि महासंघले पुन: गति लिन थालेको हो ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई प्रमुख आदर्श मान्ने खेलकुद महासंघले वामपन्थी विचार धाराको विकास र विस्तारमा समेत योगदान दिँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।