अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि…

टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि…


तनहुँ- टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका-१३, १४ र बन्दीपुर गाउँपालिका-६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।

बन्दीपुर गाउँपालिका-६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका-१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् बिस्तार गरिएको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिराका कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् बिस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताउनुभयो ।

जिल्लाको देवघाट र ऋषिङगाउँपालिका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उहाँका अनुसार देवघाट गाउँपालिका-२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।

देवघाट-१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका-६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको बिस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।

सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका-६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

व्यासनगरपालिका-१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

उक्त क्षेत्रमा विद्युत् बिस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उहाँले भन्नुभयो, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’ रासस