अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीताराम रथयात्रामा बागमतीका मुख्यमन्त्री र प्रदेश २ का प्रमुख पनि सहभागी

सीताराम रथयात्रामा बागमतीका मुख्यमन्त्री र प्रदेश २ का प्रमुख पनि सहभागी


भरतपुर- राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमा लिएर काठमाडौंबाट चितवन गएको सीताराम रथयात्रा चितवनको रामनगर पुगेको छ ।

रामनगर पुगेपछि सो रथयात्रामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश दुईका प्रदेश प्रमुख डा. राजेश अहिराज पनि सहभागी हुनुभएको छ ।

मंगलबार काठमाडौंबाट गएको रथयात्रा राति देवघाट धाममा बसेको थियो ।

बुधबार बिहान गण्डकी नदीको जल एकसय आठ घडा र कलशबाट प्रतिमामा अभिषेक गरिएको थियो । त्यसपछि देवघाटबाट हिँडेको रथयात्रा रामनगर पुगेको हो ।

देवघाटन धामबाट महेन्द्र राजमार्ग जोडिने विन्दु रामनगर पुगेपछि रथयात्रामा थप हजारौं नरनारी सहभागी भएका छन् ।

सो रथयात्रा भरतपुर महानगरपालिका सहर छिचोल्दै माडी पुग्ने बताइएको छ । रथयात्रामा अग्रभागमा हनुमानको प्रतिमा भएको रथ, त्यसपछि क्रमशः राम, सीता र लक्ष्मणको प्रतिमा राखिएको रथ रहेको छ ।

रथयात्रामा संस्कृति मन्त्री भानुभक्त ढकालका साथै विभिन्न दलका नेता, सांसद्हरु, जनप्रतिनिधिहरु तथा भक्तजनहरुको ठूलो सहभागिता रहेको छ ।

माडीको अयोध्यापुरीमा छुट्याइएको करिब एक सय बिगाहा जग्गामा ती प्रतिमालाई वैदिक विधि पूर्वक पूजाआजा गरी आज दिउँदो प्राण प्रतिष्ठा दिइँदैछ ।