अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिडियाखेती गर्नुबाहेक माधव गुटसँग उपाय छैन : दामोदर भण्डारी

मिडियाखेती गर्नुबाहेक माधव गुटसँग उपाय छैन : दामोदर भण्डारी


काठमाडौं- नेकपा एकालेका सांसद दामोदर भण्डारीले माधवकुमार नेपाल पार्टी ध्वस्त गर्ने अभियान लाग्नुभएको बताउनुभएको छ ।

माधव नेपालहरूलाई एमालेको इतिहासभन्दा जनयुद्धको इतिहासलाई प्यारो लाग्न थालेको भन्दै उहाँले भन्नुभयो, ‘पूरै लभ परिसकेको छ, उहाँहरू छुट्टिन नै नसक्ने अवस्थामा पुग्नुभएको छ ।’

प्रचण्ड र माधव केही समयका लागि एउटा सिक्काको दुईटा पाटा भएको दाबी गर्दै सांसद भण्डारीले अगाडि भन्नुभयो, ‘सिधै माओवादीमा प्रवेश गर्न उहाँहरूलाई लाज लाग्छ, त्यसो गर्दा जनतामा भ्रम दिन पनि सकिँदैन । त्यसैले पहिलो चरणमा बेग्लै पार्टी खोलेको नाटक गर्नुहुन्छ, त्यसपछि एकीकरण गरेको घोषणा गर्नुहुन्छ । हुने यही हो ।’

माधवले प्रचण्डसँग मिलेर एमाले सिध्याउन निकै प्रयास गरेको तर सफल नभएको सांसद भण्डारीको भनाइ छ । ‘माधवले एमालेलाई मारिसक्नुभएको थियो । उहाँले दुई दशकदेखि निरन्तर एमालेको घाँटी निमोठ्दै आउनुभएको थियो । तैपनि मार्न सक्नुभएको थिएन,’ उहाँले भन्नुभयो, ‘त्यसैले प्रचण्डको साथ लिएर एमालेको हत्या गर्न खोज्नुभएको थियो । हामीले माधव र प्रचण्डको हातबाट एमालेको हत्या हुन दिएनौँ, एमालेलाई बचाएका छौँ, पहिलेभन्दा बलियो र संगठित बनाएका छौँ ।’

सांसद भण्डारीले हिम्मत भए जनअदालत जान पनि माधव समूहलाई चुनौती दिनुभयो । ‘अब अदालत गएर केही हुनेवाला छैन, हिम्मत छ भने उहाँहरूले जनअदालत जानुपर्छ । जनअदालत भनेको चुनाव हो,’ उहाँले भन्नुभयो, ‘चुनावमा उहाँहरूले एक सिट ल्याउने त कुरै छाडौँ, २६५ निर्वाचन क्षेत्रमा एक क्षेत्रमा पनि जमानत बचाउन सक्नुहुन्न । नयाँ पार्टी खोलेर मिडियाखेती गर्नेबाहेक उहाँहरूसँग अब कुनै उपाय छैन ।’