अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रै मिडियाले मेरो समाचार छापेनन् : प्रचण्ड

हाम्रै मिडियाले मेरो समाचार छापेनन् : प्रचण्ड


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमले आफ्नो समाचार नछापेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवस तथा लेनिन जयन्तीमा अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘मैले बिहानै मुख्य पत्रिकामा हेरेँ, लेनिनबारे लेखेको देखिनँ ।’ आफूहरू पक्षकै पत्रकारले चलाउने अनलाइनमा पनि लेलिन र आफ्नो विज्ञप्तिबारे नलेखिएको बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रै साथीले चलाउने अनलाइनमा पनि लेलिनको चर्चा देखिनँ, मैले वक्तव्य निकालेको थिएँ, त्यो वक्तव्यलाई लिएर केही न केही चर्चा भएकै होला भनेको कुनै चर्चा भएको रहेनछ, कुनै न कुनैमा थियो होला, यति ठूलो कम्युनिष्ट पार्टीको चर्चा किन भएन ?’

नेपालमा नामका मात्र धेरै कम्युनिष्ट पार्टी भएका भन्दै उहाँले सकेसम्म नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राखिएको भएपनि त्यो पूरा हुन नसकेको बताउनुभयो । नेपालमा माक्र्सवादको बहस चलाउनुपर्ने बताउँदै प्रचण्डले भन्नुभयो, ‘सबै कम्युनिष्ट क्रान्तिकारीलाई माक्र्सवाद, लेलिनवाद, विचार सिद्धान्तबारे ठूलो बहस चलाउन आवश्यक छ, सबै कम्युनिष्ट आन्दोलनमा लागेका लगायत पार्टी पंक्तिलाई म अपिल गर्छु, आजको विश्व र राष्ट्रिय परिस्थितिलाई चिरेर लैजाने विचार, राजनीतिमा सश्लेषण, विश्लेषण आवश्यक छ ।’ कम्युनिष्ट पार्टी वैचारिक हिसाबले आफै स्खलित भएको भन्दै उहाँले यसबाट पार लगाउन पनि बहस जरुरी रहेको बताउनुभयो ।

ठूलो राजनीतिक परिवर्तन ल्याउन नेपालमा कम्युनिष्टको भूमिका निक्कै ठूलो रहेको प्रचण्डले बताउनुभयो । ‘सामन्तवाद परास्त गर्न, राजतन्त्रलाई परास्त गरेर गणतन्त्र स्थापना गर्न र नयाँ संविधान बनाउन पनि कम्युनिष्टहरूको भूमिका महत्वपूर्ण रह्यो,’ प्रचण्डले भन्नुभयो ।

पछिल्लो चरणमा माओवादी जनयुद्ध र जनआन्दोलनको भूमिका अझ प्रभावकारी भएको प्रचण्डको दाबी छ । कम्युनिष्टहरुले राजनीतिक परिवर्तनको नेतृत्व गरेकै कारण नेपाली जनतले माओवादीलाई ०६४ मा अत्यधिक मत दिएर विजय बनाएका बताउनुभयो ।

जनताले आफूलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको नेतृत्व गर्ने अवसर दिएका प्रचण्डले बताउनुभयो । ‘कम्युनिष्टको भूमिकाकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भएको हो, यो कुरा प्रतिक्रियावादीहरूका लागि सह्य भएको छैन,’ प्रचण्डले भन्नुभयो ।

माक्र्सवादको आवश्यकता र औचित्य झन् बढेको उहाँले बताउनुभयो । नेपालमा कम्युनिष्ट गठबन्धन गरेर नेतृत्व लिने आँट आफूहरुले गरेको बताउँदै उहाँले भन्नुभयो, ‘त्यो महान् काम नै थियो, साम्राज्यवादी, प्रतिक्रियावादी संशोधनवादी, अवसरवादीका लागि सह्य थिएन, तर हामीले जित्यौं, कम्युनिष्टलाई एकताबद्ध गर्न हामी सफल भएकै हो ।’