अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेलिनले देखाएका पवित्र उद्देश्यहरू सफल हुनेछन् : प्रधानमन्त्री ओली

लेलिनले देखाएका पवित्र उद्देश्यहरू सफल हुनेछन् : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै भूगोलका मान्छेमा पनि लेनिन र माक्र्सहरूको प्रभाव रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा बल्खु मदननगरस्थित नयाँ बन्ने पार्टी कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जुनसुकै भूगोलका मान्छेमा पनि लेनिनहरूकै प्रभाव परेको छ, त्यसैले असमानता, रंगभेद, वर्गभेदको उनीहरुले वकालत गर्न सक्दैनन्, यो ठूलो परिवर्तन थियो ।’

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको वडापत्रमा पनि माक्र्स र लेनिनले भन्ने गरेका सामाजिक न्याय र समानताका थुप्रै पक्षहरू समेटिएको दाबी गर्नुभयो ।

पुँजीवादीहरूले पनि समाजवादका मूल्य मान्यताहरूलाई अंगिकार गरेर अघि बढेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आजको पुँजीवादी जगतले समाजवादका आधारहरू, मूल्य-मान्यताहरू अंगिकार गरेर, अपनाएर र कार्यान्वयन गरेर नै अघि बढ्नुपर्ने बताउनुभयो ।

समाजवाद र समानताका लागि गरिएका आन्दोलनबाट नै विश्वमा ठूला परिवर्तन भएका प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्तो परिवर्तनको अगुवाइ गर्ने लेनिनको आज जन्मजयन्ती परेको छ, म लेनिनप्रति श्रदासुमन अपर्ण गर्न चाहान्छु, उहाँले देखाएका सामाजिक न्याय र समानताका महान पवित्र उद्देश्यहरू सफल हुनेछन् ।’

जनतालाई साथमा लिएर लेनिनका सपनाहरू साकार पारिने उहाँले बताउनुभयो । ‘जनतालाई सचेत बनाउने, संगठित गर्ने र सामाजिक न्याय र समानतामार्फत जनताका सपना साकार पार्छौँ, त्यही बाटोबाट जनताका साथ अघि बढ्छौँ ।’