अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरेन्द्र पाण्डेले पठाउनुभयो प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणको जवाफ

सुरेन्द्र पाण्डेले पठाउनुभयो प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणको जवाफ


काठमाडौं- नेकपा एमालेले सोधेको स्पष्टिकरणको जवाफ माधव गुटका सांसदले पठाउन थालेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माधव गुटका सांसद सुरेन्द्र पाण्डेले बिहीबार चार पेजको जवाफ पठाउनु भएको छ । जसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि नै अनेक आरोप लगाइएको छ ।

प्रधानमन्त्री ओलीका पछिल्ला कदम विधानविपरित भएको पाण्डेको स्पष्टिकरणमा उल्लेख छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टी ०७५ जेठ २ कै अवस्थामा फर्किएकाले वैध वैठकको माग गर्नु आफ्नो पदीय जिम्मेवारी र दायित्व भएको पाण्डेले स्पष्टिकरणको पहिलो बुँदामा उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘माथि प्रकरण १ मा उल्लेखित सम्मानित श्री सर्वोच्च अदालतको फैसलाविपरीत २०७७ साल फागुन २८ गते मलगायत नेपाल कम्युनिस्ट पार्टी (एमाले), केन्द्रीय कमिटीका धेरै सदस्यहरुलाई कुनै जानकारी नदिई नेपाल कम्युनिस्ट पार्टी (एमाले), नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा १३ मा रहेको राष्ट्रिय महाधिवेशनको आयोजनासम्बन्धी व्यवस्था, १३ (क)मा रहेको विधान अधिवेशनसम्बन्धी व्यवस्था, धारा १४ को केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको निर्वाचनसम्बन्धी व्यवस्था, धारा ५८ को पार्टी विधान संशोधनसम्बन्धी व्यवस्था तथा पार्टी नियमावलीको परिशिष्ट १ को बैठक सञ्चालनको कार्यविधिको बुँदा नम्बर १ को कार्यसूचीको तयारी, बुँदा नम्बर २ को बैठक सञ्चालनसम्बन्धी व्यवस्थाको उपबुँदा २.४, बुँदा नम्बर ३ र ५ समेतको व्यवस्थालाई उल्लंघन गर्दै पार्टीका नेताहरुलाई जिम्मेवारीबाट हटाउने, कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनुका साथै स्वेच्छाचारी किसिमले केन्द्रीय कमिटीमा सदस्यहरु थप्ने कार्य गरेको भनी कथित ‘अपानी’ जारी गरिएकोले राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान र नियमावली मिचेर गरिएका त्यस्ता कार्यहरुको आलोचना गर्दै त्यस्ता गलत कामहरु रद्द गर्न मैले माग गरेको हूँ र मेरो सो माग अद्यावधि निरन्तर रहिरहेको छ ।’

अर्को दल खोलेको आरोप निराधार र हास्यापद भएको पाण्डेको ठहर छ । विधान र संविधानविपरीत आफूहरूलाई कारबाही गर्न खोजिएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

पार्टीको विधानविपरीत भए गरेका कुनै पनि काम/कारबाहीलाई मान्यता नदिन एवं अभिलेखीकरण नगर्न, नगराउन आफू समेतका केन्द्रीय कमिटीका सदस्यहरूले निर्वाचन आयोगमा समेत ०७७ चैत १ गते र ०७८ साल वैशाख ५ गते लिखित निवेदन दिइसकेको जानकारी पनि पाण्डेले गराउनु भएको छ ।

‘यसरी पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमावलीका विरुद्ध गरिएका कामहरू सच्याउनको लागि मैले आवाज उठाएको हुँ, हाम्रो पार्टी लोकतान्त्रिक पद्धतिमा चल्ने पार्टी भएकाले उल्लेखित विचार राख्ने अधिकार मलगायत सम्पूर्ण पार्टी सदस्यहरुलाई छ । यसलाई ‘अलग पार्टी खोलेको’ अर्थ लगाउन मिल्दैन,’ उहाँले लेख्नुभएको छ ।

आफूलाई सोधिएको स्पष्टिकरणको बुँदा नम्बर ३ का सबै आरोप कपोकल्पित, निराधार र पूर्वाग्रही रहेको उल्लेख गर्दै पाण्डले आफूले त्यस्तो कुनै क्रियाकलाप नगरेको जिकिर गर्नुभएको छ ।

स्पष्टिकरको अर्को बुँदा पाण्डेले विधानको कुनै पनि धारा आफूले उल्लंघन नगरेको स्पष्ट पार्नुभएको छ । पद नै सखाप पारिदिने उद्देश्यले पत्र लेख्नु संविधान, कानुन र सर्वोच्चको फागुन २३ को फैसलाविपरित रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीका गतिविधि विधान विपरित र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खालका भएको उल्लेख गर्दै पाण्डेले यस्ता गतिविधि रोक्न आग्रह गर्नुभएको छ ।

माधव गुटका २७ प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेश सभा सदस्यलााई ६ वैशाखमा एमालेले स्पष्टिकरण सोधेको थियो ।