काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा आज मलेसियालाई ६९ रनले हराउँदै नेपाल शीर्षमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।
नेपालले लिग चरणमा खेलेका चारमध्ये एक खेलमा मात्र हारको सामना गर्यो ।
नेपालले उपाधिका लागि शनिबार फाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।
उसका लागि अनिमउद्दीन रेम्लीले ४१, कप्तान अहमद फैजले ३१, फित्री सामले १४, वीरन्दीप सिंहले १३ र मुहम्मद वाफिकले १२ रन बनाउनुभयो ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।
बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले तीन/तीन र सुशान भारीले एक विकेट लिनुभयो ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।
उसका लागि करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाउनुभयो ।
त्यस्तै, आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ र कुशल भुर्तेलले १६ रन बनाउनुभयो ।
बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुईरदुई विकेट लिनुभयो ।
प्रतिक्रिया