अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली–वरिष्ठ नेता नेपाल वार्ता

‘आइस ब्रेक’ हुन समय लाग्छ : दुगड

‘आइस ब्रेक’ हुन समय लाग्छ : दुगड


काठमाडौं– पार्टी एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक मोडमै रहेको एकजना सहजकर्ताले बताउनुभएको छ ।

एमाले विवाद पार्टी विभाजनको स्थितिमा पुग्न लागेको बेला प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच बुधबारदेखि छलफल र वार्ता जारी छ । नागपोखरीस्थित होटल मेरियटको कोठा नं. ९०१ मा भएको वार्ता सकारात्मक मोडमै रहेको एमालेका सांसद एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले बताउनुभएको छ ।

वार्ता स्थलको व्यवस्थापन दुगडले नै गरिरहनु भएको छ । उहाँका अनुसार नेताहरू आज हिजोभन्दा हँसिलो मुहारमा हुनुहुन्छ । ‘वार्ता सकारात्मक मोड मै छ,’ दुगडले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘लामो समयको तिक्तता भएकोले आइस ब्रेकमा समय लाग्छ । एक सिटिङ, दुई सिटिङमा कहाँ आइस ब्रेक हुन्छ ? अरू केही सिटिङमा निष्कर्षमा पुग्छ ।’

दुगडका अनुसार नेपाल आज जनकपुर जाने कार्यक्रम भएकोले शुक्रबार भेटघाट हुँदैन । ‘भोलिको केन्द्रीय कमिटीको बैठक के हुन्छ थाहा छैन तर उहाँहरूबीच केही दिनमा फेरि छलफल चल्छ,’ दुगडले भन्नुभयो, ‘पुरानो घाउ छ निको हुन समय लाग्छ नि । आत्तिनु हुँदैन ।’