अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङ र ताप्लेजुङमा हिमपात, किसान दंग

मुस्ताङ र ताप्लेजुङमा हिमपात, किसान दंग


मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका-१ का ७८ वर्षीय जीतबहादुर रसायलीले बुधबार साँझ पहिलो पटक वैशाखमा हिउँपरेको देख्नुभयो । मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म मात्रै हिमपात हुँदै आएको थियो ।

यो वर्ष लामो समय नपरेको हिउँ वैशाखको दास्रो साता पर्न सुरू भएको हो । उमेरले ८० को नजिकैरहनु भएका जीतबहादुरजस्ता यहाँका ज्येष्ठ नागरिकले कहिलै वैशाखमा हिउँ परेको देख्नुभएको थिएन ।

अचानक वैशाखमा हिउँ परेपछि यहाँका नागरिक दङ्ग परेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङमा बुधबारसाँझदेखि हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ‘मौसम परिवर्तनको असर भन्छन्, जीवनभर नदेखेको देख्नु पर्‍यो,’ रसायलीले भन्नुभयो ।

बेसिजनमा भइरहेको हिमपातले खेतीपातीका लागि खासै फाइदा नगर्ने स्थानीय किसान बताउँछन् । मुस्ताङका गाउँ हिउँले ढाकेकाले यहाँको पर्यटनमा भने सहयोग गर्ने रसायलीले बताउनुभयो ।

अधिकांश भू–भाग हिउँले ढाकेकाले चिसो बढेको छ । हिउँले जमीनको सबै भूभाग छोपेको छ । दैनिक रूपमा पोखरा जोमसोम उडान भर्ने हवाईजहाज पनि आउन सकेका छैनन । हिमपातका कारण आजका सबै उडान रद्द हुनसक्ने नागरिक उड्डयान कार्यालय मुस्ताङका प्रमुख दीपक विकले बताउनुभयो ।

हिउँले ढाकेकाले सडक हिलाम्मे भएको छ भने जिल्ला बाहिरबाट आउने सवारीसाधन निकै कम आवतजावत भएका छन् । मुस्ताङ आउने पर्यटकलाई केही असहज भएको होटल व्यवसायी बताउँछन् । बेमौसमी हिउँका कारण दैनिक रूपमा गर्ने कार्यमा सामान्य समस्या आएको छ भने मुक्तिनाथ दर्शन गर्न र कोरला नाकासम्म जाने पर्यटक तथा तीर्थालुलाई सास्ती भएको पत्रकार आदित्य रसायलीले बताउनुभयो ।

यसैबीच, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा आज बिहानैदेखि हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा हिमपात भएको हो । हिमपात भएपछि विद्यालयमा विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो ।

हिमपता भएपछि अत्याधिक चिसो मौसम हुने भएकाले कक्षा कोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज बिहानदेखि नै हिउँ परिराछ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो, पढाउँनै पर्‍यो । पढाउँदानी हिमतापका कारणले मौसम एक दम चिसो भएको छ ।’

हिमपातले चौंँरी साथै पशुपालकलाई पनि चिसोका कारणले समस्या भएको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । ताप्लेजुङमा बिहानदेखि नै वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । रासस