अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ वर्षमा उठ्यो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उदघाटन

६ वर्षमा उठ्यो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उदघाटन


काठमाडौं– भूकम्पले ढलेको धरहरा फेरि उठेको छ । चढ्नका लागि तयार भएको छ । नेपाल र नेपालीहरुको खुशी पनि धरहराजस्तै अग्लिएको छ । काठमाडौंको सौन्दय अझ बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको आज बिहान ११ बजे उद्घाटन गर्नुभएको छ । ०७२ को भूकम्पले ध्वस्त बनेको धरहराको पुर्ननिर्माण सकिएसँगै प्रधानमन्त्री ओलीले जनतालाई उपहार दिन लाग्नुभएको हो । नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिने घोषणा प्रधानमन्त्री ओलीले यसअघि नै गर्नुभएको थियो ।

भीमसेन थापाका पालामा बनेको धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको २२ तले नयाँ धरहरा चढ्नका लागि तयार भएको छ । ०७२ को भूकम्पले ढालेको धरहराकै छेउमा नयाँ धरहरा बनाइएको छ । पुरानो धरहराको भग्नावशेषलाई सिसाले छोपेर राखिएको छ । त्यसलाई त्यसरी नै संरक्षण गरेर राखिनेछ ।

आज उद्घाटन गरिएपनि सर्वसाधारणले धरहरा हेर्न भने केही समय कुर्नुपर्नेछ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्मित धरहरा हस्तान्तरणको प्रक्रियापछि मात्र सर्वसाधारणलाई अवलोकनका खुला गरिने पुर्ननिर्माण प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । आगामी असार मसान्तपछि प्राधिकरणको म्याद सकिने भएकाले कसलाई जिम्मा दिने भन्ने टुंगो लागेको छैन ।

प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहरा भित्रबाट २२ तलाको छ । जमिनमुनी २ तला र बेसमेन्ट गर्दा यो कुल २५ तलाको छ । धरहराको शीरमा सुनको जलप लगाइएको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग राखिएको छ । जमिन माथिबाट गजुरसहित ८३ दशमलव ८५ मिटर अग्लो धरहरा भूमिगत तलासहित जोड्दा ९२ दशमलव २५ मिटर अग्लो हुने पनि प्राधिकरणले जनाएको छ ।

धरहराको पुनर्निर्माण सकिएपनि धरहरा क्षेत्रका बाँकी संरचनाहरु बनाउने काम भने अझै जारी छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा भूकम्प संग्राहलय निर्माणको काम धमाधम चल्दैछ । धरहरा परिसरमै बगैंचा बनाइँदैछ । धरहरा परिसरमा पार्किङ स्थल पनि बनाइने छ ।

प्रधानमन्त्री ओलीले ०७५ पुसमा धरहरा शिलान्यास गर्नुभएको थियो । जीआइइटीसी रमन जेभी कम्पनीले धरहरा पुनर्निमाण गरेको हो ।

सरकारले भूकम्पबाट भत्किएको रानीपोखरी, दरबार हाइस्कूल लगायत कैयौं सम्पदा पुर्ननिर्माण गरिसकेको छ ।