अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनमोहनलाई सम्झौ, एमालेलाई एकढिक्का बनाऔं : महासचिव पोखरेल

मनमोहनलाई सम्झौ, एमालेलाई एकढिक्का बनाऔं : महासचिव पोखरेल


काठमाडौं- उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले मनमोहन अधिकारीले देखाउनुभएको बाटोबाट पार्टीका नेता-कार्यकर्ता अघि बढ्नुपर्ने बताउनु भएको छ ।

२२ औँ मनमोहन स्मृति दिवसका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै पोखरेलले मनमोहन अधिकारीले स्थापित गर्नुभएका आदर्श र मूल्य मान्यताबाटै पार्टीका नेता-कार्यकर्ता अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ ।

नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन अधिकारीले महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको पोखरेलले स्मरण गर्नुभएको छ ।

अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरू हुन् ।’

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका पोखरेलले पार्टी एकताको पक्षमा एकढिक्का भएर उभिन मनमोहन सबैको प्रेरणाको स्रोत बन्ने पनि उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘आजको यस विशेष दिनले नेकपा (एमाले) का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’ ०५१ मा अधिकारी नेतृत्वको एमालेको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो पोखरेल । ‘उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्,’ पोखरेलले लेख्नुभएको छ ।

वाम तथा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ र आदर्श प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गर्नुभएको थियो । ०५१ मा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । छोटो समयमा राम्रो काम गरेकाले मनमोहन नेतृत्वको सरकार जनतामाझ लोकप्रिय बनेको थियो ।

अधिकारी नेतृत्वको सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले सम्झने गर्छन् । नेपालमा पहिलोपटक मनमोहन नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । एमालेले यसलाई निरन्तरता दिंदै आएको छ ।

मनमोहन सरकारले थालेका आफ्नो गाउँ आफै बनाऔं, विकासका लागि ‘नौ स’ (साक्षरता, सुलभ, स्वास्थ्य, सिपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षारोपण, साना जलविद्युत विकास, साना घरेलु उद्योगहरू) लगायत कार्यक्रम अहिले पनि निक्कै लोकप्रिय छन् ।

जनतामाझ लोकप्रिय अधिकारीको ०५६ वैशाख १३ गते निधन भएको थियो ।